Logo

मुख्य समाचार

एकीकृत समाजवादी उपसभामुख हटाउने प्रक्रियामा सहभागी नहुने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रक्रियामा सहभागी नहुने जनाएको छ।

पार्टीका सांसद शेरबहादुर कुँवरले प्रस्ताव औपचारिक रूपमा दर्ता भएमा प्रतिवाद गर्ने बताएका छन्। “उपसभामुख हटाउने कुरा आए हामी त्यसको विरोधमा जानेछौं,” उनले अनलाइनखबरसँग प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभामा प्रतिपक्षी बेञ्चमा बसेको एकीकृत समाजवादीका १० जना सांसद छन्।

नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख हटाउन हस्ताक्षर संकलन सुरु गरिसकेका छन्। प्रतिनिधि सभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको ठहर भएमा तत्काल कायम सदस्य संख्याको एक चौथाइ सांसदको समर्थनसहित प्रस्ताव दर्ता गर्न सकिन्छ।

हाल २७४ जना बहाल सांसद रहेको प्रतिनिधिसभामा यस्तो प्रस्ताव दर्ता गर्न ६९ जनाको समर्थन आवश्यक पर्छ। तर प्रस्ताव पारित गर्न दुई तिहाइ अर्थात् १८३ सांसदको समर्थन चाहिन्छ।

संसदमा नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १३, जनता समाजवादी पार्टीका ५, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, नेमकिपाका १, जनमोर्चाका १, आजपाका १ र स्वतन्त्र २ जना सांसद छन्।

सत्तापक्ष र विपक्षबीचको मत गणनाका आधारमा उपसभामुख हटाउने प्रस्ताव पारित हुने वा नहुने टुंगो लाग्ने देखिन्छ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ११ बजे