काठमाडौं । सर्वोच्च अदालतले १६ वर्षअघिको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सोमबार परमादेश जारी गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि जाहेरी दर्ता भएको भन्दै पीडित पक्षले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले छानबिन अघि बढाउन आदेश दिएको हो। पीडित परिवारका तर्फबाट त्रिभुवन साहले २०८० जेठ २१ गते रिट दायर गरेका थिए।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि सरकारको निष्क्रिय भूमिकामाथि प्रश्न उठाउँदै अनुसन्धान तत्काल अघि बढाउन निर्देशन दिएको थियो। आयोगले नेपाल सरकारलाई ६ बुँदे निर्देशन दिँदै जाहेरी दर्ता भइसके पनि अनुसन्धान नबढाएको भन्दै आपत्ति जनाएको थियो।
आयोगले तत्कालीन प्रहरी अधिकारी र प्रशासकलाई विभागीय कारबाही गर्नुपर्ने सिफारिससमेत गरेको छ। साथै, पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन र अनुसन्धान प्रतिवेदन तीन–तीन महिनामा आयोगमा पठाउन पनि निर्देशन दिएको छ।
२०६४ साल चैत २८ गते भएको घटनामा २७ जनाको हत्या भएको थियो। आयोगले घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अभियोग दर्ता गर्न, दोषीलाई कारबाहीमा ल्याउन र भविष्यमा यस्तो घटना नदोहोरिने सुनिश्चितता गर्न पनि नेपाल सरकारलाई निर्देशन दिएको छ।
प्रतिक्रिया