काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणलाई निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर “बहादुरी” नदेखाउन आग्रह गरेका छन् ।
प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्राधिकरण एकमात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको भूमिकामा रहेकाले खपत, निर्यात र उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताउँदै निजी क्षेत्रलाई अवरोध गर्ने प्रवृत्ति तत्काल बदलिनुपर्ने उल्लेख गरे ।
डाँगीका अनुसार प्राधिकरण हाल “विद्युत उत्पादन रोक्ने, पीपीए नगर्ने, आरसिओडी म्याद नथप्ने, उत्पादन भएको विद्युत नलिने” जस्ता गतिविधिमा बढी केन्द्रित देखिएको छ । उनले भने, “ऊर्जा उद्यमीलाई पेलेर होइन, सहकार्य गरेर मात्रै समृद्ध नेपाल बनाउन सकिन्छ ।”
उनले ऊर्जा क्षेत्रमा करिब ६५ लाख लगानीकर्ता संलग्न भइसकेको उल्लेख गर्दै कुनै पनि नीतिगत परिवर्तन गर्दा तिनलाई मतदाता समेत ठान्न राजनीतिक दलहरुलाई आग्रह गरे ।
डाँगीले प्राधिकरण र निजी क्षेत्रको योगदान बराबरी रहेको दाबी पनि गरे । उनले स्मरण गरे, “२५ वर्षअघि २५४ मेगावाट विद्युत उत्पादन हुने अवस्थाबाट आज ३६०० मेगावाटसम्म पुग्दा र नेपाल विद्युत निर्यातकर्ता बनेको अवस्थामा निजी क्षेत्रको योगदान कुनै पनि कोणबाट कम छैन ।”
सरकारले लिएको लक्ष्यअनुसार २८ हजार ५०० मेगावाट उत्पादन र १५ हजार मेगावाट निर्यात सम्भव भए वार्षिक ५–७ खर्ब रुपैयाँ आम्दानी हुने उनको भनाइ छ । हालको प्रतिव्यक्ति ४०० युनिट विद्युत खपतलाई १५०० युनिटमा पुर्याए अर्थतन्त्र चार गुणासम्म वृद्धि हुने सम्भावना रहेको उनले औंल्याए ।
जलविद्युत लगानी दीर्घकालीन फाइदाजनक हुने उल्लेख गर्दै उनले प्रतिमेगावाट सरदर वार्षिक ३ करोड रुपैयाँ आम्दानी हुने बताउँदै आगामी १० वर्षसम्म हरेक वर्ष २५०० मेगावाट उत्पादन गर्न सकिए करिब ४५ खर्ब लगानीयोग्य रकम आय हुने दाबी गरे ।
प्रसारण संरचना पक्षमा उनले हालको क्षमताले मात्र ३५०० मेगावाट निर्यात गर्न सक्ने अवस्था भए पनि उत्पादन त्यति नभएको बताए । ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट १००० मेगावाट, पाँचवटा १३२ केभी लाइनमार्फत ५०० मेगावाट र अरुण तेस्रो प्रसारण लाइनमार्फत २००० मेगावाट निर्यात सम्भव हुने उनले जानकारी दिए ।
ऊर्जामन्त्रीलाई सम्बोधन गर्दै उनले विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई अनुमति दिन आग्रह गर्दै स्व. शैलजा आचार्यले इतिहास रचेझैँ अर्को ऊर्जा इतिहास बनाउन सकिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया