काठमाडौँ। गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा विशेष झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय, पानीपोखरीस्थित आइएमई कम्प्लेक्स परिसरमा आयोजित समारोहमा वाणिज्य दूत चन्द्रप्रसाद ढकालले झन्डोत्तोलन गर्नुभयो।
उहाँले नेपाल–इन्डोनेसिया सम्बन्ध ऐतिहासिक र सुमधुर रहेको उल्लेख गर्दै जनस्तरमा अझ गहिरो सहयोग र आपसी लाभ हुने खालको सम्बन्ध विस्तार गर्न आफु सक्रिय रहेको बताउनुभयो। ढकालले आपसी व्यापार, अनुभव आदानप्रदान र पर्यटनलगायत क्षेत्रबाट दुवै देशका जनता र सरकारले प्रत्यक्ष फाइदा लिन सक्ने सम्भावना रहेको भन्दै सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
नेपाल र इन्डोनेसियाबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६० मा स्थापित भएको हो। नेपालका लागि इन्डोनेसियाको राजदूतावास भने बङ्गलादेशको ढाकामा अवस्थित छ।
एशियाली राष्ट्रहरू मध्येको प्रमुख अर्थतन्त्र इन्डोनेसियासँग नेपालको व्यापारिक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सम्भावना रहेको बताइएको छ।
कार्यक्रममा नेपालमा बसोबास गर्ने इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपका कर्मचारीहरूको पनि उपस्थिति थियो।
प्रतिक्रिया