Logo

मुख्य समाचार

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका पाँच मन्त्री थपिँदा सरकार पूर्ण


३० श्रावण २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। यससँगै मन्त्रिपरिषद्को कुल सदस्य संख्या १४ पुगेको छ।

दोस्रो चरणको विस्तारमा काभ्रेका कञ्चनचन्द्र बादे सामाजिक विकास मन्त्री, रसुवाका प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, ललितपुरकी उर्मिला केसी नेपाल युवा तथा खेलकुद मन्त्री, भक्तपुरका सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र चितवनकी बिनु रायमाझी पौंडेल सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन्।

यसअघि २० साउनमा बानियाँले आफूसहित ८ मन्त्री नियुक्त गरेका थिए। सो क्रममा कांग्रेसबाट सिन्धुपाल्चोकका कृष्ण तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री बनेका थिए। पछि अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो।

एमालेतर्फबाट २० साउनमै ललितपुरका मधुसुदन पौंडेल कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसी वन तथा वातावरण, काठमाडौंका जयरथ थापा श्रम, रोजगार तथा यातायात, र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनेका थिए।

एक वर्षअघि कांग्रेस–एमाले गठबन्धनमा भएको मन्त्रालय भागबण्डाअनुसार दुवै दलले ६–६ मन्त्रालय पाएका थिए। तर, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले संस्कृति तथा पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेपछि मन्त्रालय संख्या १४ पुगेको हो, जसबाट कांग्रेसले थप एक मन्त्रालय पायो।

यस विस्तारलाई लिएर कांग्रेस बागमतीमा आन्तरिक विवाद चर्किएको छ। निवर्तमान मुख्यमन्त्री लामाको पक्षले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने अडान लिँदै आएको थियो। तर, बानियाँले उनीहरूलाई मन्त्रिपरिषद्मा नलिएपछि असन्तोष बढेको छ।

बानियाँ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि लामाको सरकार अविश्वासको मतमा पराजित भएको थियो। लामाले १८ साउनमा राजीनामा दिएपछि २० साउनमा बानियाँ मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : १५ बजे