काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता अनिलकुमार झाले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि निष्क्रिय रहेका झाले एक महिना अघि ह्वाट्सएपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा बुझाएका थिए। महासचिव सुरेन्द्रकुमार झाका अनुसार अध्यक्ष ठाकुरले राजीनामा स्वीकृत गरिसकेका छन्।
झाले पार्टी छाडेपनि नेपाल सद्भावना पार्टी पुनर्गठन गर्ने प्रयास जारी राखेका छन्। पञ्जा छाप चुनाव चिह्न लिन खोजेपनि सफल हुन सकेका छैनन्। सो पार्टी सिरहाका पुराना नेता रामकुमार महतोको नाममा दर्ता छ। महतोले झाले आफ्नो पार्टी ‘कब्जा गर्न खोजेको’ आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका छन्, जसको मुद्दा हाल पनि विचाराधीन छ।
यसैबीच, हालै प्रवक्ता बनेका महासचिव मनीष मिश्र प्रवक्ताको जिम्मेवारीबाट हटाइएका छन्। मिश्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको कार्यकालसम्बन्धी पूर्व सहमतिविपरीत अभिव्यक्ति दिएको कारण अध्यक्ष ठाकुरले प्रवक्ता पदबाट राजीनामा दिन लगाएका हुन्। प्रवक्ताबाट हटाइए पनि मिश्र महासचिव पदमा यथावत् छन्।
स्रोतका अनुसार भण्डारी ओली नेतृत्वको सरकारको कार्यकालभर मन्त्री रहने सहमति भए पनि, मिश्रले ‘शीघ्र राजीनामा दिने’ अभिव्यक्ति दिएका थिए। यसअघि भने भण्डारीले एक वर्षपछि राजीनामा दिने प्रारम्भिक सहमति भएको बताइन्छ।
प्रतिक्रिया