काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन् ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे ।
उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै, छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
मन्त्री खड्काले जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए ।
भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरे ।
निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा समिश्रण हासिल गर्न पम्पस्टोरेज आयोजनाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको ‘ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१’ का लागि बधाई तथा सफल कार्यान्वयनका शुभकामना व्यक्त गर्दै थप जानकारी लिन जिज्ञासा राखेका थिए ।
सो क्रममा मन्त्री खड्काले मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए । जसअन्तर्गत १३ हजार पाँच सय मेगावाट आन्तरिक खपत, १० हजार मेगावाट भारतमा निर्यात र पाँच हजार मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना रहेको जानकारी दिए ।
राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिए ।
खड्काले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विशेषगरी ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्दै राजदूत जोनस्टनको नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
दुवै पक्षले आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अझ फलदायी बनाउने विश्वास व्यक्त गरेका थिए।
प्रतिक्रिया