Logo

मुख्य समाचार

हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन भदौ २ र ३ गते काठमाडौंमा



काठमाडौं । संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ ।

सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने भएको छ ।

समितिका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका सांसदहरू सहभागी हुनेछन् ।

जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधता संरक्षणजस्ता साझा चुनौतीहरूबारे छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा तथा सभामुखको विशिष्ट आतिथ्यतामा सम्पन्न हुने बताइएको छ ।

सम्मेलनको आयोजना संघीय संसदको समितिले सभामुखसँगको परामर्शमा, वन तथा वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोगको समन्वयमा तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा गर्न लागेको हो ।

कार्यक्रमबारे जानकारी दिँदै समितिले हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषणका कारण गम्भीर संकटमा परेको उल्लेख गरेको छ । तीव्र सामाजिक–आर्थिक परिवर्तनका कारण मानव जीवन, पारिस्थितिक प्रणाली तथा प्राकृतिक स्रोतहरूमा प्रतिकूल असर परेको समितिको भनाइ छ ।

यसै सन्दर्भमा, सम्मेलनको मुख्य उद्देश्य सांसदहरूबीच संवाद, समन्वय र अनुभव साटासाटका माध्यमबाट नीति निर्माण र दिगो विकासका लागि साझा रणनीति तय गर्नु रहेको छ ।

कार्यक्रमले क्षेत्रीय सहयोगका माध्यमबाट साझा चुनौतीहरूको समाधानका उपाय पहिचान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।

समितिका अनुसार सम्मेलनमा सांसदहरूका साथै सरकारका उच्च प्रतिनिधि, नीति निर्माताहरू, कूटनीतिज्ञ, विज्ञ र युवाहरूको पनि सहभागिता रहनेछ । वातावरणीय र सामाजिक–आर्थिक चुनौतीहरूलाई मिहिन रूपमा पहिचान गर्दै साझा भविष्य निर्माणका लागि छलफल हुने बताइएको छ ।

कार्यक्रमबाट प्राप्त निष्कर्षहरू सम्बन्धित मुलुकको जलवायु नीति, कार्बन उत्सर्जन न्यूनीकरण, वातावरणीय योजना तथा क्षेत्रीय रणनीति निर्माणमा उपयोगी हुने विश्वास समितिले व्यक्त गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस्तो प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न सबै पक्षको सहयोग आवश्यक रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : २१ बजे