Logo

समाचार

पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै



रामेछाप । जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्दछ ।

जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने भएपनि त्यसअघि र पछिपनि दर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारले जानकारी दिए । उनका अनुसार हरेक वर्ष असारदेखि भदौसम्म यहाँ १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्दछन् ।

४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँचपोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमा असोजपछि जाडो बढ्ने भएकाले मानिसहरू पुग्दैनन् । यी दुवै पोखरी गोकुलगंगा गाउँपालिका–१ चचुरेमा पर्छन् ।

यहाँ पुग्न गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिवायल र गर्जाङ हुँदै तथा दोलखाको जिरी–माली हुँदै शिवालय निस्किएर जान सकिन्छ । साथै, रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देलबाट पनि यहाँ पुग्न सकिन्छ ।

उच्च पहाडी क्षेत्रमा अवस्थित रमणीय प्रकृतिको आनन्द लिँदै यात्रुहरू पहिले जटापोखरी पुग्छन् । त्यहाँबाट करिब ४५ मिनेटको पैदल यात्रापछि पाँचपोखरी पुगिन्छ । बाटोमा उच्च पहाडी हावापानी, वनस्पति, जडीबुटी र झरनाले यात्रुहरूको मन लोभ्याउँछ ।

रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, भक्तपुर, काठमाडौं र तराईका विभिन्न जिल्लाबाट मात्र नभई भारतको सिक्किमबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । हाल फाट्टफुट्ट तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन् ।

सडक मार्ग छाडेर एक दिनको पैदल यात्रापछि जटापोखरी पुगिन्छ, जहाँ बाटोमा पर्ने चौरीगोठहरूमा खानपान र बासको सुविधा उपलब्ध हुन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ०५ बजे