काठमाडौं । राजधानी काठमाडौंमा आज गाईजात्रा पर्वका अवसरमा विभिन्न टोलबाट सांस्कृतिक झाँकी प्रर्दशन गरिएको छ। नेवार समुदायले भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने आठ दिनको गाईजात्रा पर्वअन्तर्गत असन, कमलाक्षी, क्षेत्रपाटी, लगन, ओमबहाल, टेकु, महाबौद्ध, नयाँबजार, बागबजार, डिल्लीबजार, कमलपोखरी, नक्साल, चावहिल, जयवागेश्वरी, बौद्ध, चुनिखेल, बूढानीलकण्ठ, टोखा, गोकर्ण, आलापोट, साँखु, जोरपाटी लगायत स्थानबाट झाँकी निकालिएको हो।
बालबालिका र केही स्थानमा वास्तविक गाईलाई सिँगारी झाँकीमा प्रदर्शन गरिएको छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने यस झाँकीलाई सडकका दायाँबायाँ दर्शकको भीड लागेको छ।
धार्मिक विश्वासअनुसार नगरपरिक्रमा गरे मृतकहरू गाईको पुच्छर समाई वैतरणी पार हुने मान्यता छ। ऐतिहासिक विवरणअनुसार गाईजात्रा राजा प्रताप मल्लले पुत्रवियोगमा रहेकी रानीलाई सान्त्वना दिन सुरु गराएका थिए।
पर्वको क्रममा हनुमानढोकास्थित राजदरबार हुँदै नगरपरिक्रमा गर्ने परम्परा अहिले पनि कायम छ। भाद्र कृष्ण अष्टमीसम्म चल्ने गाईजात्रामा हास्यव्यङ्ग्य, प्रहसन, सामाजिक व्यङ्ग्य, नाचगान र मृतकको सम्झनामा करुण रसका गीतहरू गाइने गरिन्छ। यस अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थानसहितका स्थानमा हास्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना गरिएको छ।
प्रतिक्रिया