रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थिति गाईखुराको नर्वदेश्वर महादेव र ऐतिहासिक सत्तलको जीर्णोद्वार गरिएको छ ।
पुरातत्त्व विभागले जीर्णोद्वार गरेपछि महादेव मन्दिर र सत्तल चिटिक्क परेका छन् । गाई खुराको माझी बस्तीको बिचमा तामाकोसी नदी तटमा रहेको यो मन्दिर र सत्तललाई निक्कै पूराना मानिन्छन् ।
इतिहास र भूगोलका ज्ञाता देवशंकर पौडेलका अनुसार यहाँको शिलालेखमा शाके संवत् १७५० र श्रीसंवत् १८८५ लेखिएको छ । यस हिसाबले यो मन्दिर र सत्तल २ सय वर्ष पुरानो भएको उनको भनाइ छ ।
कान्तिमणि वैद्यले आफूले पाएको गाईखुराको बिर्तामा नर्वदेश्वर शिवलिङ्ग स्थापना गरेको र मन्दिरको छेउमा सत्तल बनाएको इतिहास रहेको पौडेलले जानकारी दिए ।
झिँगटीको छानो लगाइएको सो सत्तल निक्कै कलात्मक थियो । उचित संरक्षण नभएर सत्तल भत्किएपछि अहिले पुरातत्त्व विभागले आधुनिक तरिकाले त्यसको जीर्णोद्वार गरेको छ ।
झिँगटीको छानो हटाएर पाता ठोकिएको छ । काम लाग्ने पूराना काठपातहरु पुनः प्रयोग गरिएको छ भने पुरानो स्वरूप नबिग्रने गरी नयाँ काठपात र इँटा प्रयोग गरी पुनः सत्तल निर्माण गरिएको छ ।
सत्तलसँगैको शिव मन्दिर पनि पुरातत्त्व नखलबलिने गरी आधुनिक हिसाबले निर्माण गरिएको छ । सत्तलको आसपासमा भएका केही शिलाहरूलाई सत्तलमा नै टाँसिएको छ भने कतिपय बाहिर भएका पुराना शिलाहरू भने हराइ नष्ट भएर गएका छन् ।
प्रतिक्रिया