काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आज मध्यराति तुर्कमेनिस्तान प्रस्थान गर्दै छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्नेछन्। सम्मेलन साउन २० देखि २३ गते (अगस्ट ५ देखि ८) सम्म अवाजा सहरमा आयोजना हुनेछ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलनमा प्रधानमन्त्री ओलीले विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा सम्बोधन गर्नेछन्। उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने कार्यक्रम समेत रहेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू तथा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अन्य उच्चपदस्थ अधिकारी, अफिसियल मिडियाकर्मी तथा सुरक्षाकर्मीहरू रहेका छन्।
प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया