काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारतको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत जान लागेका हुन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, “भारतको औपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निम्तो प्राप्त भएको छ । भ्रमण भदौ ३१ देखि असोज १ गतेसम्मका लागि तय भएको छ ।”
प्रधानमन्त्री ओली ०८१ असार ३१ गते पदभार ग्रहण गरेका थिए । प्रधानमन्त्री बनेको एक वर्षपछि मात्रै भारतले उनलाई औपचारिक निमन्त्रणाको पत्र पठाएको हो ।
यद्यपि ओलीले यसअघि नै भारत भ्रमणमा जाने इच्छा राखेका थिए, तर मोदीले औपचारिक निमन्त्रणा पठाएका थिएनन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको तयारी भइरहेको पुष्टि गरेका छन् । उनले बाह्रखरीसँग भने, “भ्रमण हुन्छ । भ्रमणको तयारी भइरहेको छ ।”
ओली र मोदीबीच यसअघि दुईपटक भेटवार्ता भइसकेको छ । दुवै भेट सन् २०२४ मा अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा र थाइल्यान्डको बैंककमा बिमस्टेक शिखर सम्मेलनका अवसरमा भएको थियो ।
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी आगामी नोभेम्बरमा नेपाल आउने तयारीमा रहेका छन् । केही दिनअघि दिएको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले मोदीको भ्रमणको तयारी भइरहेको जानकारी दिएका थिए ।
प्रतिक्रिया