काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिबारे छलफल गर्न आफू निकटका सांसदहरूसँग बैठक गरेका छन्।
दरबारमार्गस्थित होटल याक एन्ड यतीमा शनिबार बसेको छलफलमा कोइरालाले हालको राजनीतिक परिवेश, पार्टीको आन्तरिक स्थिति तथा भावी रणनीतिबारे विचार आदान–प्रदान गरेका थिए। सांसद हृदयराम थानीका अनुसार बैठकमा समसामयिक राजनीतिक परिदृश्यबारे गहिरो छलफल गरिएको थियो।
यसअघि सरकारको आलोचना गर्दै आएका कोइरालाले पछिल्लो समय पार्टी बाहिरका नेताहरूसँग पनि संवाद तीव्र पारेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेतृ विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका छन्।
राजनीतिक वृत्तमा कोइरालाको सक्रियतालाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दुवैको नेतृत्वविरुद्ध नयाँ मोर्चाबन्दीको प्रयासको रूपमा हेरिएको छ। स्रोतहरूका अनुसार नेपाली कांग्रेसभित्र कोइरालालाई संसदीय दलको नेता बनाउने तयारीसमेत भइरहेको चर्चा छ।
यही पृष्ठभूमिमा बसेको शनिबारको छलफललाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने कदमको रूपमा लिइएको छ।
प्रतिक्रिया