विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकला विराटनगरले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि चार अर्ब ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बसेको १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’भन्ने दीर्घकालीन सोचलाई पूरा गरिने उद्देश्यका साथ बजेट ल्याइएको उपमेयर कार्कीले बताइन् ।
प्रस्तुत नीति प्रस्तावमा महानगरले उत्पादन र छिटो प्रतिफल दिने योजनालाई पहिलो प्राथमिकता दिएको छ ।
शिक्षा र स्वास्थ्यमा महानगरवासीको पहुँच अझ विस्तार गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार, जनशक्ति र सेवा विस्तारका कार्यक्रम समेटिएको छ ।
त्यसैगरी, स्थानीय तहको आन्तरिक आम्दानीमा वृद्धि गर्नसक्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्दै नगरले कर प्रणाली सुधार, नविन स्रोतको पहिचान र प्रभावकारी परिचालनको योजना बनाएको छ ।
समावेशी र समान समाज निर्माण गर्ने उद्देश्यले लैङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमहरु थप सशक्त र संस्थागत बनाइने जनाइएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन, पारदर्शिता र संस्थागत सुधारमा समेत महानगरले विशेष चासो दिएको छ ।
स्थानीय स्रोत, सीप र साधनको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्दै महानगरले रोजगारीमुखी र आत्मनिर्भर योजना कार्यान्वयन गर्ने तयारी गरेको छ । साथै, महानगरको मौलिक भाषा, धर्म, कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पनि ध्यान दिइनेछ ।
महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ । भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र संघसंस्थालाई अनुदान स्वरूप ५ करोड ५ लाख छुट्याइएको छ । यससहित सामाजिक क्षेत्रमा कुल १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको छ ।
कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ९० लाख, आर्थिक विकासमा २ करोड ९६ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनमा ३ करोड १० लाख र सुशासन तथा संस्थागत विकासमा ३ करोड ३० लाख विनियोजन गरिएको छ ।
महानगरले अनुमानित खर्च व्योहोर्नका लागि आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट अनुदानमार्फत ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट ४ करोड २३ लाख ६७ हजार, र घरजग्गा रजिष्ट्रेसनबाट मात्रै ९४ करोड ६० लाख आम्दानी हुने अनुमान गरेको छ । अन्य राजस्व स्रोतमा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विज्ञापन कर, सडक बोर्ड अनुदान र मौज्दात रकम पनि समावेश छन् ।
नरसभामा नगर सर्पदंशको कार्यमा विराटनगरमा तल्लिन भएर लागेका नगर प्रहरी हवल्दार सम्भू प्रसाद घिमिरेलाई सम्मान गर्दै एक तह बृद्धि गरि नगर प्रहरी निरिक्षकको दज्र्यानी चिन्ह समेत प्रदान गरिएको छ ।
प्रतिक्रिया