संगीतकर्मीले आफ्नो रोयल्टी प्राप्त गर्न पहिला त श्रष्टा आफैं सचेत हुनुपर्छ, जागरुप हुनुपर्छ । यसकै लागि स्थापित संघसंस्थाहरुले श्रष्टालाई जागरुप बनाउनका लागि क्रियाशील रहनपर्छ । जुन संस्थाले श्रष्टालाई रोयल्टी दिन्छ त्यो संस्था पनि आफू विकसित हुनुपर्छ ।
रमेश कोइराला
उपाध्यक्ष
गीतकार संघ नेपाल
रमेश कोइराला गीतकारका रुपमा मात्र परिचित छैनन्, उनी कानुन व्यवसायी पनि हुन् । पुर्खौली घर भोजपुर भएपनि झापामा बसोबास गर्दै आएका उनी हाल काठमाडौंमा गीत रचनासँगै कानुन व्यवसायलाई निरन्तरता दिइरहेका छन् । ०४५ सालमा पहिलो गीत रेडर्क गराएर गीतकारको परिचय बनाएका उनी हाल गीतकार संघ नेपालको उपाध्यक्षको जिम्मेवारीमा छन् ।
पछिल्लो समय नेपालमा गीत संगीत चोरी हुने, कपी गर्ने, आफ्नो सिर्जनाको पारिश्रमिक नपाउने लगायतका प्रशस्त समस्याहरु देखिदै आएका छन् । डिजिटल प्लेटफर्महरुको विकाससँगै गीतहरुको चर्चा हुनेगरेपनि यसभित्र प्रशस्त समस्या र चुनौतिहरु देखिएका छन् । यसै सिलसिलामा गीतकार संघ नेपालका उपाध्यक्ष कोइरालासँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
संगीत दिवस किन मनाइँन्छ ?
वास्तवमा संगीत दिवस फ्रान्सबाट सुरु भएको हो । प्रत्येक बर्ष जुन २१ मा ११० वटा देशले संगीत दिवस मनाउने गरेका छन् । संगीत आफंैमा एउटा अपरिहार्य विषयबस्तु हो । यसले शान्ति स्थापनाको लागि ठूलो भुमिका खेलेको हुन्छ । संगीत दिवस मनाउँदा कलाकारहरुको एकैठाँउमा भेटघाट हुन्छ र यसले देशमा शान्ति स्थापना गर्न मद्दत गर्छ ।
नेपालको संगीत क्षेत्र अर्थात संगीत उद्योगको अवस्था कस्तो छ ?
नेपालमा संगीत उद्योगको विकास भएको छैन । विकास हुन अपरिर्हाय छ । उद्योगको रुपमा विकास भयो भने संस्थाहरुले पनि सुरक्षाको अभिवृद्धि पाउँछ ।
संगीत उद्योगको विकास किन हुन सकेन ?
उद्योगको विकास हुन अथवा संगीत उद्योगका रुपमा रुपान्तरण हुनका लागि नीतिका कुराहरु अपरिहार्य हुन आउँछ । यसबारे विस्तारै परिमार्जित हुँदै जाँदैछ । संगीत आदिम कालदेखि नै सुरु भएको हो । मानिसले कान सुन्न थालेदेखि संगीतको विकास भएको थियो । ०५९ सालदेखि नै विकसित रुपमा ऐन आएको हो । यसमा सरकारको भूमिका प्रभावकारी हुन आवश्यक छ ।
अहिलेको अवस्थामा सरकारले संगीतकर्मीको प्रतिलिपि अधिकार संरक्षणमा कस्तो भूमिका खेलेको छ ?
सरकारको भूमिकाको कुरा गर्दा ऐन र कानुन नै प्रमुख कुरा हो । ऐन कानुन कस्तो बनेको छ भन्ने कुराले नै सरकारको भूमिका स्पष्ट हुन्छ । प्रतिलिपि अधिकार ऐन हामीसँग २०३९ जब आयो । त्यसले दुईतीन वटा कुरालाई संरक्षण गरेको छ । प्रतिलिपि अधिकार वास्तवमा रचना र रचयीताको पहिलो अधिकार हो । दोस्रो प्रस्तोताको र प्रकाशकको अधिकारको कुरा हो । प्रतिलिपि ऐनका कुरा आएपछि रचयीता, प्रस्तोता वा प्रकाशकको स्थापना भएको थियो । प्रतिलिपि अधिकार ऐनले के कुराको स्थापना गरिदियो भने बौद्दिक सम्पत्ति र रोयल्टीको विषय स्थापित गरिदियो । अधिकार भन्ने कुरा चेतनासँग सम्बन्धित हुन्छ ।
संगीतकर्मीहरु पनि जति चेतनशिल हुँदै गए त्यति नै उन्नत हुँदै जाने हो । पछिल्लो समय त्यसको विकास हुँदै आएको छ । अर्को प्रतिलिपि बिषयका कुराहरु छन् । यो आर्थिक विषयसँग जोडिएको हुन्छ । यो भौतिक बिषय हो । मस्तिस्कले उत्पन्न गराएर ल्याएका चिजलाई प्रतिलिपि अधिकार भन्ने गरेका छौँ । सम्पत्तिहरुलाई धेरै विषयमा वर्गीकरण गर्न सकिन्छ । तर यहाँ भौतिक सम्पत्तिमाथि भन्दा पनि अभौतिक सम्पत्तिमाथि बौद्दिक सम्पत्ति पर्छ । अन्तर्राष्ट्रिय बौद्धिक संगठनले पनि मस्तिकको उपज नै बौद्धिक सम्पत्ति हो भन्ने मान्यता राखेको छ । प्रतिलिपि अधिकारमाथि पनि धेरै कुराहरु उठेका छन् । र यसको पहल पनि भइरहेको छ । गीतकार संघले पनि यसलाई आफ्नो पहल गर्ने र श्रष्टाको हकहितको रुपमा लाने पहल गरिरहेको छ ।
नेपालमा संगीतकर्मीले पाउने रोयल्टीको अवस्था कस्तो छ ? कम्पनीहरुले नियम पालना गरेका छन् ?
यसका लागि कानुन बनेर मात्रै नहुने रहेछ । सबै पक्षले उत्तिकै रुपमा मान्न जरुरी छ । अब रह्यो श्रष्टाहरुले रोयल्टी पाए पाएनन् भन्ने सवालमा बहुसंख्यक श्रष्टाहरुले रोयल्टी पाएको अवस्था छैन । यो धुव्रसत्य कुरा हो । त्यो नपाउनुको पछाडि हाम्रो विकासको गति नै हो । रोयल्टी भनेको धेरैले बुझेका छैनन् । रोयल्टी भनेको प्रतिलिपि अधिकारले ऐनले जुन व्यवस्था गरेको छ त्योदेखि बाहेक अन्य क्षेत्रको मान्छेले रोयल्टी लिन सकिँदैन । प्रतिलिपि अधिकार ऐन अन्तरगतको संस्थाले पनि पालना गर्नुपर्छ । तथा दफा ३९ बमोजिम रोयल्टी संकलन समाज अहिले हामीसँग छ । रोयल्टी संकलन समाजले आफूजति ईफिसेन्सी बढाउन सक्छ, जति उसले भूमिकाहरु बढाउन सक्छ, जति त्यसले जनमानसमा विश्वास दिलाउन सक्छ, त्यसपछि मात्रै श्रष्टाहरुले त्यो रोयल्टी उपलब्धता पाउन सक्छन् । रोयल्टी संकलन समाजसँग के के अधिकार हुन्छन् भन्ने प्रश्नमा मापदण्ड बनाउने अधिकार रहन्छ । वितरण गर्ने प्रणालीको कुरा रहन्छ । भर्खरै मापदण्डहरु बनाइएका छन् । श्रष्टाहरुले बढी भन्दा बढी रोयल्टी पाउनुपर्छ भन्ने सवालमा हामीले हाम्रो भूमिका निर्वाह गर्दैछौं ।
प्रतिलिपि अधिकारको कानुन कस्तो छ ?
रोयल्टीको लागि पहिलो कुरा त कानुन स्पष्ट हुनुपर्छ । प्रतिलिपि अधिकारको हनन गर्ने जोकोही संस्थाहरु वा कम्पनीहरुलाई कारवाही गर्न सकिन्छ । कारवाही कसरी गर्ने भन्दा त्यो कानुनमा सबै कुराहरु लेखिदिएको भए अझ स्पष्ट हुने थियो । श्रष्टालाई सम्पत्ति पाउने कुरा र दिने मान्छेलाई पनि सम्पत्तिमा कडाई हुने थियो । रोयल्टी संकलन समाज पनि चलायमान हुन थाल्यो भने त्यसलाई पनि कारवाहीको दायरा के हो भन्ने प्रष्ट नीति हाम्रो कानुनमा छैन् । धेरै कुरामा कमजोरी छ त्यसलाई परिमार्जन गर्नुपर्ने छ । सरकारले पनि यसमा आँखा लगाउनुपर्छ । जब श्रष्टाहरु देशमा गरिब हुन्छन् तब देश पनि गरिब हुन्छ । संसारमा जति पनि देशहरुको परिचय छ त्यो श्रष्टाहरुको माध्यमले भएको हो । सम्बन्धित देशको कला, संस्कृतिको माध्यमले त्यहाँको पहिचान थाहा हुन्छ । त्यसैले श्रष्टाहरु हरेक क्षेत्रका अभिभावक हुन् । तिनको सुरक्षा राज्यले गर्नका लागि अझै कानुनहरु चुस्त र दुरुस्त हुनुपर्छ ।
संगीतकर्मीहरुले आफ्नो रोयल्टी प्राप्त गर्न मुख्य चुनौति के–के छन् ?
संगीतकर्मीले आफ्नो रोयल्टी प्राप्त गर्न पहिला त श्रष्टा आफैं सचेत हुनुपर्छ, जागरुप हुनुपर्छ । यसकै लागि स्थापित संघसंस्थाहरुले श्रष्टालाई जागरुप बनाउनका लागि क्रियाशील रहनपर्छ । जुन संस्थाले श्रष्टालाई रोयल्टी दिन्छ त्यो संस्था पनि आफूमा विकसित हुनुपर्छ । संस्थामा रहेका मान्छेप्रति समेत वफादारिता हुन आवश्यक छ । संस्थाले कुनै गलत काम गर्यो भने चाँही त्यसलाई कारवाही गर्न सक्ने कानुनमा तागत हुनुपर्छ । यस्ता सबै कुरा हुनसक्यो भने मात्रै श्रष्टाले राम्रो रोयल्टी पाउन सक्छन् ।
कतिपयले रोयल्टी भनेको नै बुझेको छैन, खासगरी रोयल्टी भनेको के हो ?
प्रतिलिपि अधिकार ऐन जब हाम्रो देशमा आयो तब प्रतिलिपि अधिकार अधिकारले ऐनले दुई तीनवटा कुराको ग्यारेन्टी गरेको छ । एउटा प्रतिलिपि अधिकार, दोस्रो रोयल्टी । र यी भित्र पनि अरु अरु अधिकार पनि छन् । प्रतिलिपि अधिकार भनेको रचनाकारले कुनै कुरा मस्तिष्कबाट निकाल्यो भने त्यो कुरा मेरो सम्पत्ति हो, त्यो सम्पत्ति म बेच्न र प्रशारण गर्न पनि पाउँछु, भने त्यो प्रशारण गर्न पाउने हक अधिकार मेरो सम्पत्ति प्रतिलिपि भयो । प्रतिलिपि तपाईंलाई पनि बेच्न सक्छु । बौद्धिक सम्पत्ति वा रोयल्टी भनेको के हो भने त्यो प्रतिलिपि प्रशारण प्रयोग गरे बापत् तपाईंले मलाई तिर्नुपर्ने रकमलाई रोयल्टी भन्छांै । र त्यो रोयल्टी हामीले प्राप्त गर्नुपर्छ । रोयल्टी अहिले प्रतिलिपि अधिकार ऐनले रोयल्टी संकलन समाजमार्फत मात्रै लिन सकिन्छ । अरुबाट लिन सकिदैँन् भनेर व्यवस्था गरेको छ ।
सरकारले संगीतकर्मीहरुलाई प्रत्यक्ष रुपमा कसरी समर्थन गरेको छ ? नीतिगत, आर्थिक वा संस्थागत हिसावले ।
कानून बनाइ दिएको छ, असमर्थन गर्न पनि मिलेन । तर संगीतको विकास भनेको राज्यको संस्थागत रुपमा विकास होइन् । आफैद्वारा बनाइएको कुराको उपज नै विकास हो । जस्तै गीतकारहरुले देशको ८० प्रतिशत गीतहरुको उत्पादन र लगानी गर्छन् र त्यो ८० प्रतिशत लगानी गरेको जुन गीतहरु छ त्यो गीत नै हामीले समाजमा सुनिरहेका छाँै । तर ८० प्रतिशत लगानी गर्ने जुन गीतकारहरु छन् उनीहरुले आफूले लगानी गरेको प्रतिफल आफैले प्राप्त गर्न सकेको छैन् । यसको लागि पनि कानून चाहिएको छ । हालको कानून पूर्ण छैन् । सरकारले नीतिगत रुपमा कलाकारहरुको विकासका लागि संगीत उद्योगको कुरा गरिरहेको छ, त्यसका लागि काम गरिरहेको छैन् । किनभने गीतको क्षेत्रमा लाग्ने मान्छेहरुलाई कुनै समयमा अर्कै नजरले हेर्ने गरिन्थ्यो तर अहिले सोचहरु परिवर्तन हुँदै आएको छ । यो क्षेत्रमा लाग्नेले पनि देशको नेतृत्व गर्नसक्ने शक्ति राख्ने रहेछ भनेर बुझ्दै गएका छन् । किनभने एउटा नेताले कुनै ठाँउमा गएर भाषण गर्यो भने दुईतीन सय हजारले सुन्लान तर एउटा गीतले एउटा समाज र देशलाई नै परिवर्तन गर्ने क्षमता राख्छ । स्रष्टा भनेको नेतृत्वदायी भूमिका निर्वाह गर्ने अथवा निर्देश गर्ने व्यक्तिहरु पनि हो ।
नेपालमा गीत संगीतकर्मीहरुको भविष्य कस्तो छ ?
भविष्य दुईवटा कुराको छ । गीत संगीत सिर्जना गर्नुको उद्देश्य समाज, देश, पहिचान र गौरवको विषय हो । पछिल्लो समय भाइरलका लागि विकसित भएका कुराहरुमा मेरो भन्नु केही पनि छैन् । तर गीत संगीत समाज र देशको लागि हो । म मेरो देशमा गौरवका साथ बाँच्ने हो भने गीत संगीतको भविष्य हुन्छ । गीत संगीत विना कुनै पनि प्राणी बाच्न सक्दैँन् ।
संगीत क्षेत्रभित्र पनि प्रशस्त बेतिथिहरु छन्, जस्तै चोरी, कपी जस्ता यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
प्रतिलिपि अधिकार ऐनले कुनैपनि सिर्जनाहरु छन् भने दर्ता पनि गर्नुपर्छ भन्ने छ । दर्ता नगरे पनि उसको दायरा भित्र रहन्छ भन्ने छ । दर्ता गर्यो भने राम्रो हुन्छ । दर्ता गरिएको छ भने अर्कोले प्रयोग गर्दा चोरीएको हुन्छ । दर्ता नगर्दा चोरीएको थाहा हुन्न् । दुरुस्तै पनि हुनसक्छ । तर लेखेको विषयलाई आधार मानेर कसको हो भन्ने छुट्टाउने कुरा रहन्छ ।
यदी छुट्टाए पछि धनि को हो र चोर को हो भन्ने पत्ता लाग्छ । यी दस्तावेजलाई हेरेर चोरी पत्ता लाग्छ । चोरी मानव समाजमा जताजतै रहन्छ । तर यसलाई मनिटरिङ गर्ने क्षमता कानूनमा रहन्छ । चोरी गरिएको विषयमा कानूनले नेपाल सरकारवादी मुद्दाका रुपमा बुझिन्छ । यस अर्थमा सम्बन्धित निकाय वा सरकारी वकिल कार्यलयमा मेरो सिर्जना फलानाले यसरी प्रयोग गर्यो त्यो प्रयोग गरे वापत मलाई यति नोक्सानी भयो भनेर जाहेरी दिई उजुरी गर्न सकिन्छ ।
पछिल्लो समयका गीतकार संघले त्यो पहल गरेको छ । नेपाल प्रहरीसँग मिलेर उजुरी दिएको कुरालाई अगाडि बढाएर गएको अवस्था छ । त्यसैले म के भन्न चाहन्छु भने यो संगीत दिवसको अवसरमा आपसी मतभेद तथा दुरीहरुलाई कम गरौ । नयाँ र पुराना स्रस्टाहरुको सम्बन्धमा पुल बनोस् । नयाँ आउने संगीतकर्मीहरुलाई अझै वातावरणको विकास होस् भन्न चाहन्छु ।
प्रतिक्रिया