Logo

समाचार

काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न व्यक्ति पक्राउ, ठूलो परिमाणमा औषधि बरामद



काठमाडौं । काठमाडौंको बालाजुस्थित काठमाडौं महानगरपालिका वडा नं. १४ मा लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। उक्त सूचनाका आधारमा असार ५ गते साँझ ४:२० बजे प्रहरी टोलीले सो स्थानमा पुगेर अनुसन्धान गर्दा अवैध रूपमा लागुऔषध संकलन, ओसारपसार तथा बिक्री वितरण भइरहेको पाइएको हो।

घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि थप जानकारीको आधारमा प्रहरीले ललितपुर महानगरपालिका वडा नं. २ स्थित घर नम्बर २८ नजिकै रहेको अर्को घरमा समेत छापा मारेको थियो। त्यहाँ पनि अवैध लागुऔषध लुकाइराखिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

उक्त अपरेसनका क्रममा प्रहरीले ठूलो परिमाणमा लागू औषध जफत गरेको छ। बरामद गरिएको लागुऔषधमा डाइजोपाम, फेनरागन, ब्युप्रिनोर्फिन र ट्रामाडोल जस्ता इन्जेक्सन प्रयोजनका औषधिहरू रहेका छन्। यसमध्ये डाइजोपाम २२ एम्पुल, फेनरागन २२ एम्पुल, ब्युप्रिनोर्फिन २२ एम्पुल र ट्रामाडोल ८८ एम्पुल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध कसूर अन्तर्गत थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखिएको छ।

सञ्चालनमा काठमाडौं जिल्ला प्रहरी परिसर र ललितपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयास रहेको जनाइएको छ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ०४ बजे