Logo

समाचार

ग्वार्को फ्लाइओभर उदघाटन गर्दै प्रधानमन्त्रीले भने : अब विकासले फड्को मार्यो



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभर निर्माण नेपालको पहिलो भएको भन्दै मुलुक विकासको बाटो अघि बढिसकेको बताएका छन् ।

फ्लाइओभर निर्माणले अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए ।

शुक्रबार ग्वार्को फ्लाईओभर उदघाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट ग्यास पैदा भएको छ । त्यसको उत्खनन् सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठूलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।’

सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताए ।

यस्तै, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने पनि उनको भनाई छ ।

इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो ।

कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ५ : ४६ बजे