Logo

समाचार

रोशी खोलामा फसेका पाँचजनाको सकुशल उद्धार



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलाको बीचमा फसेका पाँच जनाको बिहीबार राति सकुशल उद्धार गरिएको छ।

असार ५ गते राति करिब ९ बजे खोलामा आकस्मिक रुपमा पानीको बहाव बढेपछि उनीहरू बीच भागमा फसेका थिए। उद्धार गरिएका व्यक्तिहरूमा ओखलढुंगाको दूधकोसी गाउँपालिका–४ का २१ वर्षीय सागर राई, काभ्रेको नमोबुद्ध नगरपालिका–५ का १९ वर्षीय मुस्कान तामाङ, तेमाल गाउँपालिका–५ का ४२ वर्षीय सञ्जय लामा, तेमाल–९ का ३२ वर्षीय रेमन तामाङ, र दोलखाको भीमेश्वर नगरपालिका–९ का २९ वर्षीय समीर तामाङ छन्।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सागर राई लेबरको रूपमा काम गर्थे, मुस्कान तामाङ टिपरका सहचालक, सञ्जय लामा ठेकेदार, रेमन तामाङ टिपर चालक तथा समीर तामाङ जेसीबी चालक हुन्।

उनीहरू सँगै रहेको टिपर र जेसीबी पनि खोलाको बीचमा फसेको अवस्थामा रहेको छ। यद्यपि सवारीसाधनहरू अझै उद्धार गरिएको छैन। सुरक्षाकर्मीको टोलीले जोखिम मोलेर पाँचजनालाई सकुशल निकाल्न सफल भएको हो।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : ३१ बजे