काठमाडौं । इजरायलको तेल अविभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ।
इजरायल र इरानबीच जारी तनाव चुलिँदै गएपछि नेपाल सरकारले पनि त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया थालेको हो।
दूतावासले मंगलबार सूचना जारी गर्दै इजरायलमा रहेका नेपाली नागरिकलाई उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन फारममार्फत विवरण दिन अनुरोध गरेको छ।
सूचनामा भनिएको छ, “इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा वा त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त गर्न दूतावासले सूचना संकलनको काम सुरु गरेको छ।”
रजिष्ट्रेसन प्रक्रिया दूतावासको आधिकारिक वेबसाइटमा उपलब्ध लिंकमार्फत गर्न सकिनेछ।
इजरायलमा हाल करिब ५,५०० नेपाली कार्यरत रहेको अनुमान छ। युद्धको जोखिम बढ्दै गएपछि अन्य राष्ट्रहरूले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन्। नेपाल सरकारले पनि त्यहाँ रहेका नागरिकको अवस्थाबारे जानकारी संकलन गरेर उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रतिक्रिया