Logo

समाचार

सप्तकोशीमा वेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो



विराटनगर । ‘देशका लागि काम गर्छु, विपद् आए अग्रपंक्तिमा उभिन्छु’ भन्ने अठोट बोकेका डोटीका सुरज साउद फर्किएनन् ।

मनसुनजन्य विपद्को तयारीस्वरुप गरिएको प्रदेशस्तरीय अभ्यासमा भाग लिएका सशस्त्र प्रहरीमा कार्यरत गोताखोर सुरज बिहीबार सप्तकोशीको पानीमा हराए ।

उनका परिवार, साथी, सहकर्मी र देशले चार दिनसम्म आशाको उज्यालो खोजिरहे पनि आइतबार बिहान ११ बजे त्यो आशा कोशीको किनारमै एक शवमा बदलिदियो ।

कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरजको शव निकालयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले सुरजको शव भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार गोताखोर र तालिम प्राप्त टोली चार दिनदेखि खोजीमा संलग्न रहेका थिए ।

सुरजसँगै बेपत्ता भएका अर्का सशस्त्र प्रहरी सुरक्षाकर्मी हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो ।

दुवैजना सप्तकोशी नदीमा भइरहेको अभ्यासमा सहभागी थिए । अरुको जीवन जोगाउनका लागि अभ्यासमा गएका उनीहरूले आफ्नै जीवन गुमाएका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १ : ५६ बजे