काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रीत रह्यो भन्ने सुन्दा अचम्म लागेको बताएका छन् ।
मंगलबार बिराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने,‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला तर कुरा त मेरै बारेमा मात्रै भएछ ।’
कोइरालाले देशको सर्वोच्च पदमा बसेको मान्छेले गैर राजनीतिक र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रुपमा कहिंकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।
उनले प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएको भन्दै त्यो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने बताए ।
‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरेपनि कांग्रेसले छुट दिंदै जाने ?’उनले प्रश्न गरे । पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्संदै गएकोमा चिन्ता समेत व्यक्त गरे ।
प्रतिक्रिया