काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ। शो आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार SPACE4K टेलिभिजन तथा DOKO युट्युब च्यानलमार्फत बेलुका ८:३० बजे प्रसारण हुने भएको छ।
तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ यसपटक झनै भव्य र संगीतप्रधान शैलीमा प्रस्तुत गरिने निर्माता नोबडी प्रोडक्शनले जनाएको छ। सिजन २ मा दीप श्रेष्ठ, सुबानी मोक्तान र स्वप्न सुमन निर्णायकको रूपमा रहनेछन् भने १० जना ग्रान्ड जुरी सदस्यहरू प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा सहभागी हुनेछन्। कार्यक्रमको सञ्चालन हास्यकलाकार सुमन कार्कीले गर्नेछन्।
कुल ३१ एपिसोड रहने यस सिजनमा बालप्रतिभाहरूको जीवन्त प्रस्तुति पहिलो एपिसोडदेखि नै देखिनेछ। आयोजकका अनुसार कार्यक्रम नेपालसहित अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशहरूमा रहेका नेपाली समुदायका दर्शकहरूका लागि समेत उपलब्ध हुनेछ, जसले कार्यक्रमलाई अन्तरक्रियात्मक र समावेशी बनाउने अपेक्षा गरिएको छ।
सहकार्यबारे वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “यस कार्यक्रमले बालबालिकाको कला र क्षमता उजागर गर्नुका साथै नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। डिजिटल प्रविधिमार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्याउने र प्रतिभालाई प्रोत्साहन गर्न वर्ल्डलिंक प्रतिबद्ध छ।”
कार्यक्रमका थप जानकारी र अपडेटहरू DOKO युट्युब च्यानल र टिकटक मार्फत उपलब्ध हुने आयोजकले जनाएका छन्।
प्रतिक्रिया