Logo

धर्म / संस्कृति

मिथिलाञ्चलमा वटसावित्री पर्व : नवविवाहितहरुका लागि विशेष



जनकपुर । मिथिलाञ्चलमा आज सोमबार विवाहित महिलाहरूले धार्मिक श्रद्धाका साथ वटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन् ।

विशेषगरी बरको रुख भएको स्थानमा पूजाका लागि महिलाहरूको भीड लागेको छ । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ ।

पर्वको अवसरमा महिलाहरूले नयाँ साडी, ब्लाउज, साया, लुगा–फाटा, लहठी, चुरा, सिन्दूर, टिकालगायत श्रृंगारका सामग्री किन्ने गर्छन् ।

साथै पूजाका लागि विशेष सामग्रीहरू पनि खरिद गरिन्छ । नवविवाहित महिलाहरूको लागि यो पर्व अझ विशेष मानिन्छ, किनकि बेहुलाको घरबाट पूजा सामग्रीसहित ‘पाहुर’ पठाउने प्रथा पनि रहेको छ ।

मिथिला संस्कृतिमा वटसावित्री पर्व नारीत्वको आदर्श र सन्तान प्राप्तिमा सहयोगी पर्वको रूपमा लिइन्छ। यो पर्व प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइन्छ ।

धार्मिक मान्यताअनुसार, बरको रुखमा भगवान ब्रह्मा, विष्णु र महेशको वास रहने विश्वास गरिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार बरको वृक्ष मुनी पूजा, कथा, व्रत आदि गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पीपल जस्तै बरको वृक्षलाई पनि हिन्दू धर्ममा अत्यन्त पवित्र र शक्तिशाली मानिन्छ ।

दार्शनिक दृष्टिले पनि बरको रुख दीर्घायु, अमरत्व, ज्ञान र निर्वाणको प्रतीक मानिन्छ । भगवान बुद्धले ज्ञान प्राप्त गरेको वृक्ष पनि बरकै भएको मानिन्छ ।

त्यसैले महिलाहरूले यस वृक्ष मुनी व्रत बसेर पूजा गर्छन व्रत कथा सुन्छन् र बरको रुखमा सूती धागो बाँधेर आस्था प्रकट गर्छन । धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा महत्वपूर्ण मानिने यो पर्वले मिथिला संस्कृतिको गहिरो धार्मिक चेतना झल्काउँछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ४ : ०४ बजे