Logo

समाचार

चोरी पैठारीका कारण राजस्व घट्यो, आन्तरिक व्यापार कमजोर हुँदै गयो’



जनकपुर । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति, सुरक्षा नभए अरु कुनै कुराको सम्भावना नरहने बताएका छन् ।

शुक्रबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले विकास निर्माण, समृद्धि र सुशासन कायम गर्न सबैभन्दा पहिला चाहिने कुरा भनेको शान्ति सुरक्षा रहेको उल्लेख गरे  ।

उनले सीमा नाकासंग जोडिएका क्षेत्रहरुमा सबैभन्दा बढी चोरीपैठारी हुने गरेको देखिएको बताए ।

चोरी पैठारीका कारण राजस्व घट्नुका साथै आन्तरिक व्यापार कमजोर हुँदै गएको र सीमा नाकामा अपराधिक घटनाहरु पनि बढ्दै गएको जानकारी दिएका छन् ।

सीमा नाकासंग जोडिएका समस्याहरु समाधान गर्न सम्पूर्ण सुरक्षा निकायलाई गम्भीर भएर लाग्न गृहमन्त्री लेखकले निर्देशन दिए ।

कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशका सुरक्षा निकायहरुमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना र सुरक्षाकर्मीहरुलाई थप सुविधा प्रदान गर्न आवश्यक रहेको बताए । 

उनले सुरक्षाकर्मीहरुलाई उचित आवास र खाना खाने ठाउँसमेत राम्रो नभएका कारण समस्या भोग्नु परेको सुनाए । उनले केन्द्र सरकारले सुरक्षाकर्मीहरुलाई उचित सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।

त्यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रहरी समायोजन नभएका कारण प्रदेश सरकारले चाहे जस्तो काम गर्न नसकिरहेको गुनासो गरे ।

उनले विगतमा आफूले अनुगमन गरेर बन्द गर्न निर्देशन दिएका दर्ता नभएका र मापदण्ड विपरीत अस्पतालहरु केही दिन पछि फेरि सञ्चालन गरेको पाइएको गुनासो गरेका छन् ।

गृहमन्त्री लेखकले लागु औषध, सवारी दुर्घटना, आत्यम हत्या, साइबर क्राइम जस्ता समस्यालाई समाधान गर्न आवश्यक रहेको र यसमा प्रदेशका सम्पूर्ण सुरक्षा निकायले सक्रियताका साथ लाग्नुपर्ने धारणा राखे  ।

गोष्ठीमा मधेश प्रदेशका ८ वटै जिल्लाका सम्पूर्ण सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिीति रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १ : २७ बजे