Logo

विशेष

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे



काठमाडौं । दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ ।

निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको सम्बन्धित निकायका अधिकारीहरुको भनाइ छ ।

किसानका उत्पादन सङकलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतको भनाइ छ । उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे ।

उनले भने ‘प्लेटफर्म एउटै भयो । विगतमा डीडीसी मात्र थियो । हामी अभिभावकको भूमिका थियौं । अहिले निजी क्षेत्रको उपस्थिति वाक्लिएको छ । सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ भनेर खुल्ला अर्थ नीतिको अभ्यास गरिरहेकाले त्यसको असर देखिएको छ । विगतको तुलनामा हाल धेरै संख्यामा डेरीहरु खुलेका छन् । निजी क्षेत्र र डिडिसीका उत्पादन जाने क्षेत्र एउटै भएकाले प्रतिस्पर्धा व्यापक छ । हिजोको अवस्थामा डिडिसीले डेढ लाख लिटरसम्म बजारमा दुध पठाएको थियो । त्यही सिलसिलामा अहिले उत्पादन बढ्दै गएको छ । बजारीकरण बढ्न नसकेपनि जनघनत्व बढेको छ । तर जनघनत्व बढेपनि निजी डेरी धेरै भएकाले हाम्रा उत्पादन बजारमा खपत गराउन सकेका छैनौं ।’

गौतमका अनुसार संस्थानसँग करिब तीन अरवको अचल सम्पती र सँवा अरवको मौजात सामाग्री रहेको छ । मौजात सामाग्री धेरै रहेकाले खर्च कटौटी गरी बजार विस्तार गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने उनी बताउछन् ।

यसैगरी काठमाडौं दुग्ध वितरण आयोजनाका प्रबन्धक इन्द्रभुषण कुमार यादव नीजि क्षेत्रले निर्धारण गरेको मूल्यका कारण डिडीसीलाई असर परेको बताउँछन् । तर डिडीसीको उत्पादन निजी क्षेत्र भन्दा उच्च गुणस्तरीय रहेको दाबी गर्छन् । 

‘हामी निजी क्षेत्र भन्दा धेरै अगाडि छौ । हाम्रै मापदण्ड र गुणस्तरसँग उनीहरु तुलना गर्दै अगाडि बढिरहेका छन् । कुनैपनि किसिमले हामीले उपभोक्ता ठगेका छैनौ । मापदण्डमा सक्षम छौं । हाम्रो उत्पादनमा अखाद्यय बस्तु नमिसाई खाद्य संस्थानको मापदण्डको नीतिअनुरुप बजारमा दुध उपलब्ध गराएका छौं,’ उनले भने ।

‘हामीलाई अलिकति नीजि क्षेत्रको मूल्यले खुम्चाइरहेको छ । जसले गर्दा विक्रीमा गिरावट आएको हो । निजी क्षेत्रको मूल्य उनीहरुको हातमा छ तर हाम्रो मूल्य नेपाल सरकारसँग हातमा छ । हामी हाम्रो नीतिअनुसार घटाएर बजारमा बेच्न सक्दैनौ,’ उनले भने ।

प्रबन्धक यादवले उपभोक्तालाई सचेत रही डिडिसीका उत्पादन प्रयोग गर्न अनुरोध समेत गरे । 

‘उपभोग्ताहरु सचेत हुनुपर्छ । डिडिसी नेपाल सरकारको हो र गुणस्तरीय छ । यसमा सबै नेपाली जनताको लगानी छ । किसानहरु विहान ३ बजे नै उठेर नियमित रुपमा दुध पठाउनुहुन्छ । त्यसलाई संकलन गरेर उपभोक्ता सामू पुर्याइरहेका छौं । गुणस्तरमा कमी गरेका छैनौं । डिडीसीलाई आक्रमण गरी निजी क्षेत्रले खुम्चाएको जस्तो पनि देखिदैन्,’ उनले भने ।

यस्तै, प्रवक्ता गौतमले डीडीसीका उत्पादन नेपाली सेना, प्रहरीलगायत नेपाल सरकारका निकायहरुले अनिवार्य उपभोग गर्नुपर्ने र त्यसको लागि मन्त्रालयले पनि सहयोग गर्नुपर्ने बताए ।

उनले थप भने, ‘हाम्रा स्टोरमा मौजात रहेका सामाग्रीहरु सामान्य बजारमा कटाउन सक्ने अवस्था नरहेकाले सरकारको निकायहरु आर्मी, पुलिस, निजामती कर्मचारीहरुलाई सर्कुरल जारी गरी स्थानिय तहरुमा अनिवार्य रुपमा डिडिसीका उत्पादन प्रयोग गरेमात्र हाम्रो मौजात रहेको सामाग्री घट्नेथियो ।’

उनले टाढाबाट ढुवानी गर्नुपर्ने भएका कारण खर्च धेरै लाग्ने जसले गर्दा निजी क्षेत्रको जसरी काम गर्न नसक्ने बताए । उनले सामान स्टक रहेकाले भुक्तानी सहज हुन नसकेको पनि बताए ।

‘सरकारको स्वामित्वको रहेको संस्था भएकाले निजी क्षेत्रको जस्तो जति चाहिन्छ त्यती मात्र लिन्छौ । त्यो भन्दा बढि लिदैनौ भन्न पाउँदैनौ । सरकारले खटाएको ठाउँमा पुगेर किसानको हितलाई पनि ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ । टाढा पुग्दा ढुवानी खर्च धेरै लाग्छ । चालु खर्च नै धेरै लाग्ने भएकाले निजी क्षेत्रको जसरी गर्न सक्दैनौ । भुक्तानी सहज हुन नसकेको कारण चाहीं स्टकमा सामान बसेर नै हो । दुध सबै बजारमा खपत हँदैन त्यसकारण बाइप्रोडक्ट बनाएर राख्नुपर्ने हुन्छ । त्यसमा पाउडर र बटर बनाउँछौ । त्यसलाई स्टोर गरेर राखी दुध कम हुँदा बजारीकरण गर्छौ,’ उनले भने । 

प्रवक्ता गौतमले संस्थानसँग लगभग तीन अर्बको अचल सम्पत्ति रहेको सुनाए । उनले भने, ‘हामीसँग करिब तीन अर्बको अचल सम्पत्ति छ । संस्थानसँग मौजात रहेको करिब सँवा अर्ब रुपैंयाँको सामग्री मौजात छ । सरकारी स्वामित्वको संस्था भएकाले सरकारले चाहयो भने सरकारी निकायहरुमा डिडिसिका सामाग्री अनिवार्य गर्न सक्छ ।  खर्च कटौती गरी बजार विस्तार गर्न मन्त्रालयसँग प्रस्तावनाहरु बुझाएका छौ ।’

तथापी, लामो समयसम्म किसानको रकम भुक्तानी नहुने र संस्थानको व्यवस्थापकीय अक्षमताका कारण डिडीसीप्रति विश्वनीयता घट्दै गएको छ । विक्री घटेको छ । कोभिडअघि डीडीसीको एक लाख २० हजार लिटर दूध नेपालमा खपत हुने गरेको भएपनि अहिले ७० हजार लिटर भन्दा तल झरेको बताइन्छ ।

बजारको मागलाई मध्यनगर गर्दै डीडीसीले प्रशोधित दूधहरुमा स्टान्डर्ड, होलमिल्क, काउ मिल्क र टि मिल्क उत्पादन गर्दै आएको छ । त्यस्तै, मोजोरेल, याक र कञ्चन चीन पनि उत्पादन गर्दै आइरहेको छ । यि बाहेक मख्खन, घिउ, मिठाई, दही, लस्सी, आइसक्रिम लगायत प्रोडक्ट उत्पादन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १ : २४ बजे