Logo

मुख्य समाचार

 ‘स्रोत व्यवस्थापन र बजेट विनियोजनमा कुशलताको कमी भएको छ’



काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समिति विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता, पूर्वबजेटका सम्बन्धमा छलफल भएको छ ।

विहीबार समितिको हलमा उक्त विषयमाथि छलफल सम्पन्न भएको हो ।

सोही क्रममा अर्थ मन्त्रालयका सहसचिव एंव प्रवक्ता श्याम प्रसाद भण्डारीले माग धेरै भएपनि स्रोत व्यवस्थापन र बजेट ल्याउने कुरामा विनियोजन कुशलता कम भएको बताए । 

उनले भने, ‘लोक सेवा पढ्दैगर्दा २० वर्ष अगाडि लेखेका समस्याहरु अझै समाधान भएका छैनन् । सरकारको नीति तथा कार्यक्रमसँगै संविधानलाई आधार मानेर विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता यस समितिमा प्रस्तुत पनि भइसकेको छ । हाम्रो माग धेरै छन्, त्यसको स्रोत व्यवस्थापन र बजेट ल्याउने कुरामा विनियोजन कुशलता कायम गर्न काम गर्नुपर्नेछ ।’

यस्तै, उनले वर्षौदेखि नै कुशलतामा समस्याहरु देखिएको भन्दै त्यसलाई सम्बोधन गर्न केही काम गरौं भनेर मन्त्रालय लागि परेको पनि बताए ।

उनले भने, ‘परियोजनाको उद्देश्य एकातिर छ । हामी कहिलेकाही त्यो भन्दा थोरै तलमाथि जान्छौ । कतिपय कुराहरु विनियोजन र कार्यान्वयन कुशलतामा केही समस्याहरु छन् । त्यसलाई कम गर्ने हिसाबमा वर्षौदेखि प्रयास भइरहेको छ । त्यसलाई सम्बोधन गर्न केही काम गरौं भनेर मन्त्रालय लागि परेको छ । यसबारे गृहकार्य भइरहेको छ ।’

विकासलाई अलिकति अगाडि बढाउने क्रममा सानो काम गर्न प्रदेश र स्थानीय तह रहेको भन्दै संघले ठूला र महत्वपूर्ण आयोजनामा काम गर्नुपर्ने सिद्धान्तका आधारमा छलफल भइरहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ३ : ०८ बजे