जनावरहरुलाई नै खुवाउन भनेर ठूलो रकम आउँदैन् । तर नेपालीहरुको मन धेरै ठूलो छ । विदेशमा रहनुभएका नेपाली मन पवित्र छ । स्कुल–कलेजमा पढ्ने भाइ बहिनीहरुले आफ्नो खाजा खर्चबाट रकम जोगाएर स्याम्पू, डग फुडहरु लिएर आउनुहुन्छ । भिजिटरहरुले डोनेट गर्नुहुन्छ । सहयोग गर्नेमा १० प्रतिशत विदेशी र ९० प्रतिशत नेपाली नै हुनुहुन्छ ।
स्नेहा श्रेष्ठ
पशु अधिकारकर्मी
काठमाडौं । ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिएन् । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा सहेर ‘जारा’ले मृत्युवरण गर्यो । परिवारको सदस्यझैं अत्यन्तै माया गरेर पालेको जाराको मृत्युपछि स्नेहा उजुरी लिएर प्रहरीकहाँ पुगिन । तर प्रहरीले उजुरी नै दर्ता गराएन् ।
एउटा निर्दोष जनावरको निर्मम तरिकाले हत्या भएपछि स्नेहा भावुक बनिन् । कानुनी कारवाहीको प्रक्रिया पनि अघि नबढेपछि उनले कठोर सोच, निडर विश्वास र लगनशिलताका साथ जीवनलाई नयाँ बाटोतर्फ डोहोर्याइन् । प्राणीप्रेमी अर्थात पशु अधिकारकर्मी बनेर उनले सयौं ‘जारा’हरुलाई नयाँ जीवन दिइरहेकी छन् ।
भनिन्छ, जीवनमा कुनै राम्रो परिवर्तन र सफलताको लागि मानिसले खराब र कठोर परिस्थितिको सामना गर्नुपर्छ । सकारात्मक पलको पर्खाइमा तितो अनूभूतिलाई आत्मसाथ गर्ने आँट र साहस राख्नुपर्छ । परिस्थिति नै त्यस्तो बनिदिन्छ कि कतिबेला कुन घटनाले मानिसको पूरै जीवनलाई नसोचेको बाटोतिर मोडिदिन्छ ।
त्यसैले त स्नेहाले तितो अनुभवलाई मिठो रुपमा ग्रहण गरेर सयौं प्राणीको जीवन बदलिदिएकी छन् । हुनत उनीमा ‘एनीमल केयर सेन्टर’ खोल्ने सोच पहिले कहिल्यै आएको थिए । तर आफ्नै सन्तान सरहको ‘जारा’को हत्यापछि विछिप्त बनेकी उनले बेबारिसे बनेका सयौं प्राणीहरुको नयाँ जीवन दिइरहेकी छन् । बेवारिसे अवस्थामा रहेका जनावरहरुको साहारा बनेकी छिन् र जनावरप्रेमी बनेर आफ्नो परिचय बदलेकी छिन् ।
आफ्नै घरमा भएको दुःखद घट्नापछि एनिमल केयर संचालनमा ल्याउने सोचका साथ २०१४ देखि कानुनी रुपमा ‘स्नेहाज केयर’दर्ता गरेर उनले जनावरहरुको सेवासुरु गरिन् । उनी भन्छिन् ,‘२०१४ देखि कानुनी रुपमा ‘स्नेहाज केयर’रजिस्टार गरेर सुरु गरेर काम सुरु गरेकी हुँ । खासमा मेरो कुकुरलाई छिमेकीले पोइजन खुवाएर मारिदिए । कुकुरलाई बचाउन सकिन । कुकुरलाई जसले पोइजन खुवाएको थियो उसलाई कानुनी कारवाहीमा ल्याउन पनि सकिएन् । सोही घटनापछि ‘स्नेहाज केयर’ सुरु गरेकी हुँ ।’
उनले कुकुरमात्र नभएर गाईका बाच्छाहरु, भैसीहरु,मन्दिरमा बलि दिन लगेको बोकाहरु, बुढो भएर दुध नदिने गाइहरुको उद्दार गरेकी छिन् । उनी भन्छिन् ,अहिले यहाँसम्म आइपुग्दा सडकमा बेबारिसे छाडेका बाच्छा, भैसी, मन्दिरमा बलि दिन लगेको बोका, खसी, बुढो भएर दुध नदिने भएपछि छाडिएका गाई भैंसीको उद्दार सुरु गरेको हुँ । यसबीचमा सुंगुरहरुको पनि उद्दार गरेका छौं । सुरुवातीमा कुकुरको उद्दारबाट कामको थालनी गरेपनि अहिले सबै जनावरलाई माया गर्छु । उद्दार गर्छु ।’
स्नेहा केयरमा हाल १५० भन्दा बढी कुकुरहरु छन् । रातमा उनीहरु भुक्दा बाधा पुर्याउने भएको कारण छिमेकीहरुबाट हटाउन दबाब आइरहेको उनले सुनाइन् । ‘काम सुरु गर्नेबेला यहाँ घरहरु थिएनन् । हाल यहाँ आसपास ३०–४० वटा घर बनिसकेका छन् । भुकेर बाधा पुगेपछि हामीसँग विकल्प छैन् । यहाँबाट अन्त सर्न खोजिरहेको छौं तर हामीलाई समय दिनुको सट्टा आजै जाउ, भोली नै जाउँ भनेर दुःख दिइरहेको छन् । वडाहरुमा गएर हामीले गर्दा रेबिज धेरै फैलियो भनेर गुनासो गर्नुहुन्छ । तर रेबिज कम गराउन यस्तो काम गरिरहेका छौं । यस्तो कुरा कसले बुझिदिने ?’
केयर सेन्टरमा लाग्ने खर्च जुटाउन कठिन भइरको बेला सेन्टर नै सार्नपर्ने कुराले तनाव महसुस भइरहेको उनले सुनाइन् ।
उनका अनुसार स्नेहाज केयरलाई आवश्यक पर्ने आर्थिक सहयोग स्वदेश तथा विदेशमा बस्ने केही नेपालीहरुबाट हुँदै आएको छ । कोही सेन्टरमा आउँदा जनावरलाई नुहाइदिन स्याम्पु र साबुन बोकेर आउँछन् त केही भाइबहिनीले विद्यालयको खाजा खर्च समेत जोगाएर सहयोग गर्न आउने गरेको उनले सुनाइन् ।
उनले भनिन्,‘जनावरहरुलाई नै खुवाउन भनेर ठूलो रकम आउँदैन् । तर नेपालीहरुको मन धेरै ठूलो छ । विदेशमा रहनुभएका नेपाली मन र स्कुल–कलेजमा पढ्ने भाइ बहिनीहरुले आफ्नो खाजा खर्चबाट जोगाएर स्याम्पू, डग फुडहरु लिएर आउनुहुन्छ । भिजिटरहरुले डोनेट गर्नुहुन्छ । सहयोग गर्नेमा १० प्रतिशत विदेशी र ९० प्रतिशत नेपाली नै हुनुहुन्छ । सोही सहयोगले फाउन्डेसन चलिरहेको छ । तर अब नयाँ सेन्टर बनाउनको लागि चाँही ठूलो चुनौती छ ।’
उनले सरकारबाट त्यति धेरै सहयोग पाएकी छैनन् । ललितपुर महानगरपालिकाले कुकुरहरु बन्द्याकरण गर्न समन्वय गर्नका साथै एउटा एम्बुलेन्स प्रदान गरेको छ ,तर एउटा मात्र एम्बुलेन्स भएको कारण जनावरप्रेमीहरुले भनेको सबै ठाउँमा उद्दारको लागि एकैपटक पुग्न सम्भव नहुने उनको गुनासो छ ।
‘ललितपुर महानगरपालिकाले कुकुरहरु बन्द्याकरण गर्न पनि हामीसँग समन्वय गरेको छ । एउटा एम्बुलेन्स प्रदान गरेको छ । जसको कारण नै उपचार गर्न सजिलो भएको छ । तर हामी एकैपटक धेरै ठाउँमा पुग्न सक्दैनौं त्यसैले आजभोली धेरै जनावरप्रेमीको कल म्यासेज आउँछ तर ठाउँमा पुग्न सकिँदैन् । त्यस कारणले पनि उहाँहरु रिसाउनुहुन्छ । त्यसैले यस्तो काम गर्न निरुत्साहित बनाउँछ ।’
त्यस्तै स्नेहाको अनुसार सरकारबाट जनावरहरुको लागि भनेर बजेट अहिलेसम्म कुनै पनि जनावरको सेवा गर्ने संस्थाले पाएको छैनन् । देशमा जनावरको लागि ठोस नियम,कानुन नभएको भन्दै भएका ढुवानी मापदण्डहरु र पशुकल्याण निर्देशिकाहरु पनि कागजमा मात्र सिमित रहेको उनको भनाइ छ ।
उनले भनिन्,‘पशुपंछी विभाग, कृषि मन्त्रालयले जनावरहरुको हेरचाहका लागि बजेट अहिलेसम्म कुनैपनि जनावरको सेवा गर्ने संस्थाले पाएका छैनन् । देशमा जनावरको लागि कानुन नै छैन् । ठोस नियम कानुन नै छैन् । केही गाइडलाइनहरु मत्र छन् । पशुकल्याण निर्देशिका छ, ढुवानी मापदण्डहरु छ । तर कागजमा सिमित छ ।’
पहिलेको तुलनामा जनावरप्रेमीको सङ्ख्या बढेको उनको ठम्याइ छ । विशेषगरी युवा पुस्तामा धेरै जनावरप्रति प्रेम बढेको उनी बताउँछिन् ।
सडकमा बेवारिसे जनावरहरुको अवस्था त उस्तै नै छ । तर अहिले जनावरपे्रमि चाँही बढेका छन् । चेतना अलि बढेको छ । विशेषगरी युवा पुस्तामा जनावरप्रति प्रेम बढेको छ । घरबाट दिएको पकेट खर्चबाट कहिले डग फुड, स्याम्पू किनेर ल्याउनुहुन्छ,’ उनले भनिन् ।
सरकार र प्रहरीहरुबाट सहयोग नपाएको कारण सयौं घटनामा संलग्न दोषीहरुलाई सजाए दिलाउन नसकेको उनले दुखेसो गरिन् । उनले भनिन्,‘जारा मारोको एउटा घटना भयो । तर त्यस्ता घटना सयौं भइरको छन् । निवेदन नै नलिएको कारण दोषिहरुलाई कारबाही गर्न सकेका छैनौं । किनकी सरकारी क्षेत्र र प्रहरीहरुबाट सपोर्ट छैन् ।’
जनावरको सेवा र संरक्षणका लागि ‘एनीमल केयर’ स्थापना गरेकी स्नेहा अहिले धम्की र डरको वातावरणमा काम गरिरहेकी छन् । जनावरमाथि हुने हिंसाविरुद्ध आवाज उठाएबापत उनी ठूलाठूला व्यक्तिहरूबाट धम्कीको शिकार बनेकी छिन् ।
‘काम गर्दै जाँदा ठूलाबडाबाटै फोनमा धम्की आउन थाल्यो, उनले भनिन् ‘तर प्रहरीमा दिएको निवेदन मैले फिर्ता लिएन । फिर्ता नलिएपछि उनीहरू एनिमल केयरमै आइ धम्काएका छन् । दिनदिनै केस फिर्ता लिनुस् भनेर दबाब आउन थालेको छ ।’
स्नेहाका अनुसार, एउटा गाईमाथि क्रूर व्यवहार गर्ने व्यक्तिविरुद्ध उनले उजुरी दिएकी थिइन् । गाइलाई उद्दार गरेको थियौं । उसको ढाड र खुट्टा भाचिएको थियो । मैले प्रहरीमा उजुरी दिएर त्यो मान्छे थुनामा पनि पुग्यो । तर मलाई यहाँ आएर सांसद एवम नेताहरुले धम्की दिएर गए । मैले नाम राखेको गौरी गाईसँगै वाचा गरेकी थिएँ । जसले यस्तो अवस्थामा पुर्यायो उसलाई कारवाही गर्छु भनेर । त्यो व्यक्ति थुनिएपछि धम्की झन बढ्यो, ’उनले थपिन् , ‘पछि थाहा भयो, उसले अरू धेरै जनावर पनि पालेको रहेछ । अन्ततः म बाध्य भएर निवेदन फिर्ता लिनपर्यो ।’
साथै उनले नेपालमा जनावरप्रतिको क्रूर व्यवहारविरुद्ध बोल्न कठिन रहेको बताइन् । ‘केस दर्ता गर्नेबित्तिकै ठूलाठूला मान्छेहरुको फोन आउँछ,’ स्नेहाले भनिन्,‘कसैले आँखा फुटाइदिन्छन्, कसैले तातोपानी र एसिड खन्याउँछन् । यस्ता थुप्रै घटना छन् जुन खुल्न सकेका छैनन् ।’
स्नेहाले बाल्यकालदेखि नै पाठ्यक्रममा जनावरप्रतिको माया सिकाउनुपर्ने आवश्यकता औंल्याइन् । ‘हामीले प्रोटिन, क्याल्सियमका कुरा त पढ्यौं, तर जनावरप्रति माया, जिम्मेवारी र बफादारीबारे केही पढेनौं । बाटोमा कुकुर देख्दा ढुंगा हान्नु हुन्न भन्ने कुरा पनि बाल्यकालदेखि सिकाउनुपर्छ ।’
सरकारको उदासीनताप्रति पनि उनी असन्तुष्ट छिन् । ‘नेपालमा गाई र कुकुरलाई पूजा गरिन्छ, तर तिनको लागि कानुन छैन भन्ने त लज्जास्पद कुरा हो, उनी भन्छिन्,‘सरकारले कानुन नबनाए पनि चुप लागेर बस्दैनौं ।’
साथै उनले जनावरप्रतिको संवेदनशीलता बढाउनु र कानुनी संरक्षण सुनिश्चित गर्नु आफ्नो मूल उद्देश्य भएको बताइन् ।
स्नेहाज केयरले प्यारालाइसेस भएका कुकुरलाई छुट्टै वार्डमा राख्ने र उनीहरुलाई हिँडडुल गराउन ह्विलचेयरको व्यवस्था गर्ने गरेको छ । त्यस्ता ह्विलचेयर नेपालमा नबन्ने भएकाले विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको स्नेहाले जानकारी दिइन् ।
प्रतिक्रिया