काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ चरणको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको पराजय भोगेको छ।
मंगलबार थाइल्यान्डमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो। थाइल्यान्डका नाताया बुचाथाम र नानापाट कोन्चारोएन्काईले समानरुपमा ५० रनको योगदान गरे। अफिसारा सुवान्चोनराथीले २९ रन जोडिन् भने नाथाकान चान्थमले १५ रन बनाइन्।
नेपालका लागि राजमति ऐरी र मनीषा उपाध्यायले एक–एक विकेट लिए।
१५९ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको नेपाल २० ओभरमा ९ विकेटको क्षतिमा ८० रनमै सीमित भयो। कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् भने राजमति ऐरीले १९ र रुविना क्षेत्रीले १२ रन जोडिन्। अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। नेपालका चार ब्याटर शून्यमै आउट भए, जसमध्ये दुई ‘गोल्डेन डक’ थिए।
थाइल्यान्डका ओनिचा काम्चोम्फुले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिइन्। थिपट्चा पुथावोङले ३ विकेट लिइन् भने सुलिपोर्न लाओमीले १ विकेट लिइन्।
यद्यपि यस पराजयले नेपाललाई ग्लोबल क्वालिफायरमा पुग्नबाट रोक्न सकेन। सोमबार युएईविरुद्धको पाँच विकेटको जितपछि नेपाल एसिया छनोटको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा प्रवेश गरिसकेको छ।
प्रतिक्रिया