रामेछाप । नेपालकै पुरानो बजार मध्येको एक रामेछापको ठोस बजार पुरानो मौलितक पहिचान समाप्त भए पछि नयाँ ढङ्गले उठ्ने प्रयास गर्दै छ । खिम्ति खोलाको किनारमा रहेको लेकाली भूभागमा अवस्थित ठोसे बजार नेवारहरूको पुरानो बजार हो । ठोसे फलाम खानीले बजार बनाएको ठोसेलाई २०७२ सालको भूकम्पले निमिनास्ती बनायो ।
भूकम्पको कारण ठोसे बजारका अधिकांश पुराना घरहरू ढले । त्यसै पनि खालि हुँदै गएको ठोसे बजार २०७२ सालको भूकम्प पछि झन् खाली भयो । विक्रम संवत् १९२१ सालमा ठोस मेक्चनमा फलाम खानी सञ्चालन गरिएको थियो । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको समयमा विसं १९२१ सालमा ठोसेको एकान फेदीमा मेगजिन अड्डा स्थापना गरिएको थियो ।
ठोसे आसपासका विभिन्न १८ वटा खनीबाट धाउ निकालेर पगाली त्यहाँ फलाम बनाइन्थ्यो । जहाँ दैनिक नौ नाल बन्दुकका साथै विभिन्न घरेलु हतियार र घरेलु प्रयोगका उपकरण बनाइन्थ्यो । सो अड्डा विसं १९५० सालमा एकान फेदीबाट ठोसेमा सारिएको थियो । त्यस पछि ठोस बजार अझ फस्टाएको थियो । त्यस बेला सो अड्डाका प्रमुख डिट्ठा भक्तबहादुर कार्की ठोसे बजारकै थिए । त्यसैले एकानफेदीको अड्डा ठोसे सारिएको थियो ।
ठोसेमा फलामखानीको मुख्य अड्डा सञ्चालन भएपछि मध्यपूर्वकै सबैभन्दा धेरै मानिसहरूको चल्ती हुने पहाडी बजार बनेको थियो ठोसे । फलाम कारखाना र खानीमा काम गर्ने सायौँ मानिसहरू किनमेलको लागि ठोसे बजार आउँथे । सुरुमा बन्दुक बनाउन स्थापना गरिएको सो कारखानामा विसं १९६५ साल पछि बन्दुक बनाउन छाडियो । त्यस पछि सो कारखानाबाट घरेलु प्रयोगका सामान मात्र उत्पादन हुन लाग्यो । कोदालो, कोदाली, हँसिया, गल, खुकुरी, घोडाको टाप, ताल्चा ओदान आदि बनाएर काठमाडौंको सुन्दरीजल पठाइन्थ्यो । त्यहाँबाट पास गरेर दरबार पठाइन्थ्यो ।
राज्यले चलाउन नसके पछि विसं १९७३ सालमा ठोसे फलाम खानी ठेक्कामा लगाइयो । पूर्व ३ नम्बरका साङ्गे लामाले खानी ठेक्का लिए । उनले पनि खानी सञ्चालन गर्न सकेनन् । त्यसपछि पूर्व ३ नम्बरका छ्योङ तामाङले ठेक्का लिए । स्थानीयले उत्पादन गरेको फलाम यी ठेकदारहरूले १ रुपैँयामा ६ धार्नी खरिद गरी रुपैँयाको ४ धार्नीका दरले बिक्री गर्दथे ।
विसं १९७७ सालमा बहिदार फत्यबहादुरले नै फलाम खानी ठेक्का लिए । उनले सो खनी तीन वर्ष ठेक्कामा चलाए । विसं १९८० साल साउन १४ गते सरकारी तवरबाटै फलाम खानीको ठेक्का तोडियो । त्यसपछि स्थानीयले फलामको धाउ उत्पादन गर्ने र उनीहरूले उत्पादन गरेको फलामबाट सामान बनाउने काम थाले । सरकारी स्तरबाट फलामखानी बन्द भयो ।
२००७ सालमा कांग्रेसको जनमुक्ति सेना सो फलाम खानीमा ४ दिन बस्यो । फलाम खानीको छानो भत्काएर सेनाले ओछ्यान बनाए । २००७ साल माघ १९ गते मेगजिनका कागजपत्र कांग्रेसले कब्जा ग¥यो र जलाइदियो । मेगजिनको काम बन्द भए पछि काम गर्ने मानिस पनि घट्दै गए । मेगजिनमा रहेका सरकारी सामानलाई पछिसम्म सुरक्षा दिएर राखिएको थियो । विसं २०२४ सालमा ती सामान कवाडीको भाउमा लिलाम गरियो । ठेकेदारले लान मिल्ने र लैजान सक्ने जति सामान लग्यो । नमिल्ने केही सामान त्यहीँ छाड्यो । जो अवशेषको रूपमा अहिले पनि छन् ।
फलाम खानी बन्द भएपछि सुस्ताएको ठोसे बजार विदेशी पर्यटकहरू दोलखाको जिरीबाट ठोसे हुँदै सगरमाथाको बेसक्याम्प हिँड्न लागेपछि फेरि फस्टाएको थियो । पछि चुचुरेको शिवालयमा झोलुङ्गे पुल बनेपछि पर्यटकहरू त्यही छोटो बाटो प्रयोग गरेर हिँड्न लागे । जसले गर्दा ठोसेको व्यापार व्यवसाय घट्यो ।
व्यापार हुन छाडेपछि ठोसमा व्यापार व्यवसाय गर्नेहरू अन्त सरे । स्थानीय पनि धेरै काठमाडौं तिर सरे । पुराना घर खालि हुँदै गए । खालि घर थोत्रिँदै गए । ती थोत्रिएका घर २०७२ सालको भूकम्पले सबैजसो ढले । ‘२०७२ सालको भूकम्पले त पुरानो बजारको अस्तित्व नै मेटाइदियो, अब पुराना घर त बाँकी नै छैनन् भन्दा पनि हुन्छ’, स्थानीय महेशलाल प्रधान भन्छन् ।
पुरानो पहिचान समाप्त जस्तै भएपछि ठोस बजार पुनः नयाँ हिसाबले उठ्ने प्रयास गर्दै छ । ‘पुराना घर त सकिए, अब बिस्तारै नयाँ पक्की घरहरू बन्दै छन्, व्यापार व्यवसाय त पहिलाको जस्तो छैन, तै पनि हामी यो बजारलाई जगाउने प्रयास गर्दै छौँ’, स्थानीय होटेल व्यवसायी गौतम श्रेष्ठले भने ।
प्रतिक्रिया