Logo

संवाद

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने



देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि छलफलहरु भइरहेको छ । विधान संशोधन भएर पास नभएकाले केही असहज भएको छ । तर हामीले संघीय संरचनाको मर्म अनुसार आफ्नो कार्यढाँचा परिवर्तन गरेका छौं । स्थानीय तहमा उपशाखा, जिल्ला शाखा, प्रदेशमा प्रदेशस्तरीय शाखा र केन्द्रमा केन्द्रीय स्तरबाट नै समन्वय गरेर काम गरिरहेका छौं ।

विपुल न्यौपाने

निर्देशक–मानवीय मूल्य तथा संचार विभाग

नेपाल रेडक्रस सोसाइटी

अन्तर्राष्ट्रिय रेडक्रसले नेपाललाई नमूनाका रुपमा हेरेको छ । रेडक्रसको स्थानीय स्तरमा ठूलो पहुँच छ, मानवीय सेवामा सफल छौं ।

नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रसको अभियानको एउटा सदस्य हो । यो अभियान भनेको मानवीय क्षेत्रमा काम गर्ने हो । विभिन्न कारणले मानव जोखिममा छौ । जस्तै युद्ध, बाढीपहिरो, जलवायु परिवर्तन, संसारभर हुने जातिय विभेद, रंगभेदका कारण मानवीयता संकटमा छ । यसको जर्गेनाको लागि र मानवीय जोखिम कम गर्नको लागि संसारभर नै रेडक्रसले काम गरिरहेको छ ।

यस्तो अभियानमो सुरुवात स्विट्जरल्याण्डका नागरिक जि हेनरी ड्यूनान्टले १८६३ मा नै गर्नुभएको हो । युद्धकालिन समयमा युद्धमा भाग लिएका वा नलिएका सबैले दुःख पाएका थिए, युद्ध लड्दाखेरी पनि मानवीय तरिकाले लड्नुपर्ने भएकाले युद्धमा घाइते वा अन्यहरुले संरक्षण पाउनुपर्छ भनेर रेडक्रसले मानवीय अभियानको सुरुवात भएको हो । अहिले १९१ भन्दा बढि देशहरुमा रेडक्रसको संजाल छ ।

सातवटा सिद्धान्तका आधारमा मानवीय जोखिम कम गर्न विश्वभर नै रेडक्रसले काम गरिरहेको छ । र विश्वभर फैलिएको रेडक्रसको एउटा सञ्जाल नेपाल पनि हो । हाम्रो पहिलो प्राथमिकता युद्ध वा द्वन्द्वबाट मानिसलाई जोगाउनुका साथै घाइतेहरुको उद्धार गर्नु हो । हाम्रो जस्तो देशमा बाढीपहिरो, भोकमरी, विभिन्नखालका विभेदहरु साथै जुनसुकै विपत्तिबाट मानवीयता कमजोर बनाउने भएकाले यस क्षेत्रमा काम गर्ने हाम्रो लक्ष्य हो ।

नेपाल रेडक्रसले प्रकोप व्यवस्थापनको क्षेत्रमा प्रकोपबाट कसरी जोगिने भनेर समूदायलाई सशक्त बनाउने, खानेपानीका कारण विभिन्न जोखिमहरु कम गराउने साथै सरसफाइका क्षेत्रहरुमा काम गरिरहेका छौं । सामूदायिक विकासको क्षेत्रमा पनि काम गरिरहेका छौं । शान्तिको प्रचारप्रसार गर्ने, रेडक्रसको मूल्य–मान्यताहरुको एकअर्कामा प्रचारप्रसार गर्दा पनि समूदायमा शान्ति स्थापना हुन्छ । विभिन्न स्वास्थ्य क्षेत्रहरु जस्तै आँखा अस्पतालहरु, स्थानीय तहदेखि संघीय तहसम्म मिलेर स्वास्थ्य क्षेत्रमा नसर्ने रोग, सर्ने रोग, बुढयौली व्यवस्थापनको अवस्था रक्त्तसञ्चारको क्षेत्रमा काम गरिरहेका छौं ।

संघीय अभ्यास जारी

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि छलफलहरु भइरहेको छ । तर विधान संशोधन भएर पास नभएकाले केही असहज भएको छ । तर हामीले संघीय संरचनाको मर्म अनुसार आफ्नो कार्यढाँचा परिवर्तन गरेका छौं । स्थानीय तहहरुमा उपशाखाहरु, जिल्ला शाखा, प्रदेशमा प्रदेशस्तरीय शाखा र केन्द्रमा केन्दीय स्तरबाट नै समन्वय गरेर काम गरेका छौ । यसरी संघ, प्रदेश र स्थानीय तहमा पहुँच विस्तार भएको छ । तर यही कुरालाई विधानमार्फत औपचारिक तरिकाले पास भएको छैन् । नेपाल रेडक्रस सोसाइटीमा करिब १२ लाख सदस्यहरु छन् ।

नेपालमा जुनियर युवा रेडक्रस विद्यालय र क्याम्पसहरुमा, समूदाय स्तरमा युवा रेडक्रस गठन गर्ने गरेका छौं । जुनियर युवा कार्य प्रणाली निर्देशिकाले निर्देश गरे अनुसार काम गर्छौं । ६ हजार जुनियर युवा रेडक्रस छन् । ७७ जिल्ला, सात प्रदेश, १५ सय उपशाखा र ६ हजार जुनियर युवा रेडक्रस सर्कल गरेर १२ लाख सदस्यहरु हुनुहुन्छ । रेडक्रस समूदायमा ठुलो वेस भएको संस्था हो । समस्या पर्दा प्रत्येक घरमा तुरुन्तै पुग्न सक्छौ । समूदायमा आधारित स्वयम्सेवकहरु हुनुहुन्छ । तालिम प्राप्त स्वयम्सेवकहरु उपशाखामा पनि हुनुहुन्छ । आफ्नो क्षेत्रमा विपद्पर्यो भने स्थानीय तहबाटै सहयोग गर्नुहुन्छ । कोही रुखबाट लड्दा समेत रेडक्रसको फस्ट्रेक्स बक्स तालिम लिएकाहरुले समूदाय स्तरमा सहयोग गर्नुहुन्छ । आगोलागी हुँदा हाम्रा स्वयम्सेवकहरु कतिपय आगो निभाउन सुुरक्षाकर्मी भन्दा चाँडो पुग्नुहुन्छ । कतै सुरक्षाकर्मीसँगै सहकार्य गरेर काम गरिरहेका हुन्छौं । त्यसैले स्थानीय स्तरमा ठूलो पहुँचको कारणले मानवीय सेवा गर्न एकदमै सफल भएका छौं ।

रक्तदानका लागि जनचेतना जरुरी

रेडक्रस सोसाइटीको अर्को महत्वपूर्ण काम भनेको रगत संकलन र सेवा दिने काम हो । रक्तदान भनेको मान्छे कति बेला कसरी रक्तदान गर्नुहुन्छ भन्ने खालको कुराले विशेष अर्थ राख्छ । जस्तै बर्खा वा चाडपर्वको बेलामा अलिकति रक्तदान गर्ने ठाउँबाट रगत पाउन अभाव छ । अरु सामान्य अवस्थामा चाँही रगतको त्यस्तो खालको कमी हुँदैन । कतिपय कुरा जानकारी नभएका कारण पनि समस्या आउँछ । हामीले राम्रोसँग जनचेतना निर्माण गर्न पनि सकेका छैनौं होला । तर हिजोआज रेडक्रस बाहेक अन्य संस्थाहरुले पनि रक्तदान अभियान र रक्त सञ्चारको कामहरु गरेका कारणले रगतको धेरै अभाव हुँदैन् ।

नेपाल रेडक्रसले पनि आफ्नो क्षमतालाई अलिकति बढाएर विगतको जस्तो धेरै अभाव हुने गरेको छैन् । रगत भनेको मान्छेले मात्र दिने भएकाले बनाउन मिल्दैन् । न कहींबाट ल्याउन मिल्छ । हामी सबै मान्छेहरुले आफ्नो मानवियता र मानव धर्म सोचेर जति रक्तदान गर्छौं त्यति नै छिटो बिरामीहरुको बेडसम्म रगत पुर्याउन सक्छौं । यस्तो कुरा हामीले बुझ्न एकदमै आवश्यक छ ।

कानुनी पाटोमा काम गरिरहेका छौं

अहिले हामी केही महत्वपूर्ण कुरालाई ध्यान दिएर काम गरिरहेका छौं । नेपाल रेडक्रस जस्तो संस्था १९१ देशमा छन् । त्यसमध्ये एकसय भन्दा धेरै देशहरुमा त्यहाँको सरकारले रेडक्रस कानुन बनाएर काम गरिरहेको छ । अरु संस्थाभन्दा रेडक्रस फरक संस्था भएपनि संस्था दर्ता ऐन अनुसार चल्नुपरेको छ । रेडक्रसका लागि कानुन कमजोर भएकाले संस्था ऐन दर्ता अनुसार चल्नुपर्ने वाध्यता छ । तर काम गर्ने स्कोप एकदमै ठूलो छ ।

हामी विभिन्न ठूलो क्षेत्रमा काम गरिरहेकाले सरकारकै कार्य प्रणाली, कानुन नियमावलीमा रेडक्रसले एकदमै राम्रो स्पेस पाइरहेको छ । राज्यको एउटा सहयोगी संस्थाको रुपमा रेडक्रसले काम गर्ने भएकाले कानुनको ठूलो आवश्यकता छ । कानुन अहिले छैन तर विभिन्न चरणमा काम भइरहेका छन् । विभिन्न प्रक्रियामा कुरा भएका छन् । तर कानुन आउन सकेको छैन् । एउटा रेडक्रस कानुन भयो भने गतिविधिहरुलाई अझै राम्रोसँग अघि बढाउन सक्छौं ।

मानवीय सेवाको लागि विभिन्न देशहरुले बजेट छुट्याउने गर्छ । तर हाम्रो देशमा विगतमा रक्तसञ्चार सेवालाई सरकारले सहयोग गरेको देखिन्छ । तर नियमित हिसावले सेवा छुट्याएर सहयोग गरेको अवस्था छैन् । हामी समुदाय स्तरमा छिटै सेवा दिने एम्बुलेन्स, आँखा सम्बन्धि सेवाहरुमा रक्तसञ्चारका सम्बन्धमा पालिकाहरुसँग सम्झौताहरु गरेर काम गरिरहेका छौं । तर केन्द्रीय अथवा संघीय बजेट अन्तरगत बजेटहरु आएको छैन् ।

सम्बन्ध विग्रिएको छैन् 

अन्तर्राष्ट्रिय रेडक्रस महासंघ तथा रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी)सँग नेपाल रेडक्रस सोसाइटीको सम्बन्ध चिसिएका कुराहरु बाहिर आएका थिए । तर सम्बन्धमा कुनै समस्या आएको छैन् । पारामिटरको हिसाबले केही समस्या आएपनि कर्मचारी तहमा सम्बन्ध सुमधुर छ । नेपाल रेडक्रसलाई अन्तर्राष्ट्रिय महासंघले एउटा नमूना राष्ट्रिय सोसाइटीको रुपमा, सामुदायिक विकासका काम, समुदायमा पहुँच, छिटो सेवाहरुलाई उहाँहरुले एकदमै राम्रो तरिकाले प्रशंसा गर्नु भएको छ ।

बाँकी सरकारको कुराहरुमा सरकारले नै हेर्ने  हो । रेडक्रसलाई अझ राम्रो बनाउन सकिन्छ भनेर अन्तर्राष्ट्रिय महासंघ सुझाव दिनुभएको छ । हाम्रो काम गर्ने तरिका, संगठन, सञ्जालको सवालमा एकदमै प्रशंसा गर्नुभएको छ । यसबीचमा नेपाल सरकार र अन्तर्राष्ट्रिय महासंघबीचमा नै केही कुराहरु भइरहेकै छ । देखिएका समस्याहरुलाई छिटोभन्दा छिटो सुल्झाउने हिसाबले संवाद भइरहेको छ ।

मे ८ को उत्साह

हरेक बर्षको मे ८ लाई हामी नेपालभर नै अन्तर्राष्ट्रिय रेडक्रस दिवसका रुपमा मनाउने गरेका छौं । अन्तर्राष्ट्रिय रेडक्रस दिवसको दिन हेनरी ड्युनाको जन्म दिन पनि भएकाले विशेष स्मरणका रुपमा दिवस मनाउने गरेका छौं । उहाँले संसारलाई रेडक्रस जस्तो संस्था दिनुभयो । संस्थाको प्रवद्र्धनमा पनि योगदान दिनुभएको हुनाले उहाँको सम्झनामा मे ८ लाई विश्व रेडक्रस दिवसको हिसाबले मनाउँछौ ।

नेपाल पनि विश्व रेडक्रस समाजको सक्रिय सदस्यको हिसाबले ७७ वटै जिल्लामा, सातै प्रदेशमा विभिन्न खालका गतिविधिहरु गरेर मनाउँदैछौ । ‘सक्रियताका साथ मानवताको पक्षमा’ भन्ने नाराका आधारमा वर्षभरि गरेका मानवीय कामहरु देखिने गरेर, समुदायमा प्रचारप्रसार गर्ने हिसाबले विभिन्न कार्यक्रम गरिरहेका छौं । त्यही अनुसार प्रदेश, जिल्ला र उपशाखाहरुले कार्यक्रम गर्नुभएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ४ : ०६ बजे