Logo

राजनीति

ओलीद्वारा डाकिएको बैठकमा प्रचण्ड गैरहाजिर, अविश्वासले देखायो प्रभाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा बिहीबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग आह्वान गरिएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शान्तिप्रक्रियाका बाँकी विषयहरूमा केन्द्रित थियो। छलफलमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मात्रै कुराकानी भएको हो।

माओवादी केन्द्रका वरिष्ठ नेता खिमलाल देवकोटाका अनुसार अध्यक्ष प्रचण्ड बैठकमा अनुपस्थित रहनुको मुख्य कारण प्रधानमन्त्रीप्रति गम्भीर अविश्वास हो। देवकोटाले भने, “पछिल्लो पटक प्रचण्ड बैठकमा सहभागी भएको दिन प्रधानमन्त्रीले कुलमान घिसिङसँग टीआरसी साटेको जस्तो भाष्य निर्माण गर्नु विश्वासघाती कदम थियो।”

देवकोटाले प्रधानमन्त्रीले एकपक्षीय रूपमा निर्णय गर्दै आएको आरोप पनि लगाए। “शंका यही छ कि बैठक वास्तवमै परामर्शका लागि हो कि पहिल्यै बनेका निर्णयमा अरू नेताहरूलाई साक्षी बनाउने प्रयास,” उनले भने।

यसअघि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको निर्णयको भोलिपल्टको बैठकमा भने प्रचण्ड सहभागी भएका थिए। तर पछिल्लोपटक विश्वासको आधार कमजोर भएको भन्दै उनी बैठकमा गएका छैनन्।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : २५ बजे