रौतहट । केरा खेतीको बिस्तारसंगै रौतहटका तीन स्थानमा यसबाट बनेका परिकार खुवाउने खाजा घर सन्चालनमा रहेको छ ।
दुर्गा भगवती गाउँपालिकामा दुईवटा र ईशनाथ नगरपालिकामा एक गरी तीनवटा केराकै परिकार खुवाउने रेस्टुरेन्ट व्यवसाय सन्चालनमा रहेको हो ।
यहा काँचो र पाकेको केराबाट बनाना चिप्स, अचार, पकौडा, फिङ्गर चिप्स, चिल्ली, सेकुवा, समोसा, मःम, खिर, बर्फी, कस्टर, हलुवा र वाइन लगायतका परिकार बन्ने गरेको छ । प्रायः केराको परिकार खानका लागि छिमेकी पालिकासहित भारतका विभिन्न स्थानबाट मानिसहरु आउने बनाना रेस्टुरेन्टका सन्चालकहरु बताउँछन ।
बनाना रिसोर्टका सन्चालक राकेश गुप्ताका अनुसार केराका परिकारको माग उच्च छ । केराबाट करिब २६ प्रकारका परिकार बनाइन्छ उनले भने यहा आएकाहरुले सबै परिकार रुचाउँछन् । विशेषगरी केराको मःम बढी रोजाइमा परेको उनको भनाइ छ । आफुले २० कट्ठा क्षेत्रफलमा केरा खेती गरेको समेत उनले जानकारी दिए ।
केरा बिक्रीसँगै रिसोर्ट सञ्चालनबाट महिनाको ३०÷३५ हजार कमाइ हुने उनले बताए । केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ । चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीका अनुसार केरा स्वास्थ्यवर्धक फल हो ।
पाचन क्रियामा सुधारदेखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिने उनको भनाइ छ । केरालाई सुपर हेल्दी फुड मानिएकाले दैनिक एक÷दुई कोसा खाँदा फाइदा हुने उनको तर्क छ ।
केरा खेती प्रवद्र्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपुर्ण हुन्छ । पछील्लो समयमा केरा खेतीसंगै यसको परिकारले रौतहटलाई चिनिन थालेको छ ।
प्रतिक्रिया