Logo

समाचार

कञ्चनपुरमा भैँसीपालक किसानको रहस्यमय मृत्युपछि निष्पक्ष छानबिनको माग



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय भैँसीपालक किसान तथा दुग्ध व्यवसायी हरिकिसन राना रहस्यमय रुपमा मृत भेटिएको घटनापछि रानाथारू समुदायले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

गत वैशाख ९ गते मंगलबार बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। घटनालाई रहस्यमय र शंकास्पद ठहर गर्दै रानाथारू समुदायले आज बिहीबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल रानाथारू समाज तथा नेपाल रानाथारू युवा समाजका केन्द्रीय प्रतिनिधिहरूले काठमाडौँमा गृहमन्त्रीसँग भेट गरी ज्ञापनपत्रमार्फत घटनाबारे छानबिन गर्न माग गरेका हुन्। ज्ञापनपत्रमा घटनालाई रहस्यमय र सञ्चारमाध्यममा पुराना घटनासँग समेत जोडेर जानकारी सार्वजनिक भइरहेकाले आम जनमानसमा चासो र आक्रोश बढेको उल्लेख गरिएको छ।

समुदायका अगुवाहरूले शंकास्पद व्यक्तिहरूलाई यथाशीघ्र नियन्त्रणमा लिई निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन्। ज्ञापनपत्रमा हस्ताक्षर गर्ने प्रमुख व्यक्तिहरूमा नेपाल रानाथारू समाजका अध्यक्ष कमल सिंह राना, पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य कृपाराम राना, युवा समाजका अध्यक्ष कमल राना, महासचिव अनिल राना, सचिव अर्जुन राना, केन्द्रीय सदस्यहरू राम प्रताप राना, उपेन्द्र राना, र अरूण सिंह बडायक रहेका छन्।

रानाको मृत्युपछि कञ्चनपुरमा मात्र नभई केन्द्रसम्मै रानाथारू समुदाय आक्रोशित देखिएको छ। उनीहरूले सत्य तथ्य बाहिर ल्याउन सरकारसँग अपिल गरेका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : ५८ बजे