Logo

मुख्य समाचार

शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भिर चासो



काठमाडौं ।  नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षकहरूको आन्दोलनबारे चासो व्यक्त गरेका छन् ।

स्वास्थ्यका कारण केही दिनदेखि घरमै आराम गरिरहेका कोइरालाले मंगलबार बिहान शिक्षक महासंघका प्रतिनिधिहरूसँग पनि कुराकानी गरेका थिए ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले डा. कोइरालासँग कुरा गर्दै शिक्षामन्त्रीको राजीनामा आफूहरूको माग नभएको र शिक्षा ऐन जारी नहुँदासम्म आफूहरू नफर्किने बताएका थिए ।

त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए । त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए ।

त्यसक्रममा कोइरालाले शिक्षकहरूका जायज मागहरूप्रति आफू सधै सकारात्मक भएको भन्दै शिक्षकहरूमा समस्या समाधान गर्न सरकार र पार्टीको ध्यानाकर्षण गरिरहेको बताएका थिए ।

नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले पनि यस बिषयमा कोइरालाले चासो व्यक्त गरेको बताए ।

‘उहाँसँग सामान्य कुराकानी भएको थियो। अहिलेको जल्दोबल्दो विषयमा चासो त राखिहाल्नुहुन्छ नि!’ महरले भने ।

२१ दिनदेखि देशभरका सरकारी विद्यालयमा शैक्षिक हड्ताल गरेर शिक्षकहरू काठमाडौंका सडकमै छन् । यहीबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भइरहेको छ । यद्यपि ओलीले ‘आफैंले बनाएको मन्त्रीलाई हटाउने’ काम नगरेको भन्दै मिडियाले हल्ला फैलाएको आरोप लगाएका छन् । र विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको दाबी पनि गरेकी छन् ।

शिक्षकहरूले भने मंगलबार पनि आन्दोलन जारी राखेका छन् । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा सहभागी भइदिन आग्रह गरे पनि शिक्षकहरूले आफूहरूले त्यसमा सहयोग नगर्ने चेतावनी दिएका छन् ।

अहिलेसम्म एईईसीका उत्तरपुस्तिकाहरूसमेत जाँचिएका छैनन् । शिक्षकहरूको आन्दोलनका कारण वैशाख १ गतेदेखि नै सुरु भएको राष्ट्रिय भर्ना अभियान पनि प्रभावित भएको छ ।

यसअघि नै नेपाली काँग्रेसका नेता कोइरालाले शिक्षकहरूका माग पूरा गरी उनीहरूलाई काममा फर्काउने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका थिए । 

शिक्षामन्त्रीको राजीनामापछि शिक्षा क्षेत्रमा झन अन्योल उत्पन्न भएको भन्दै कोइरालाले लाखौं विद्यार्थीको भविष्यप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ५२ बजे