इटहरी । नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदायमाथि दिएको आपत्तिजनक अभिव्यक्तिको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पेश गरिएको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरिएको हो ।
संगठनले धार्मिक सद्भाव विथोल्ने, समाजमा डर र आतंक फैलाउने अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै तत्काल कानुनी कारबाहीको माग गरेको छ ।
संगठनका अध्यक्ष तुफेल अहमदले समाजमा हिंसा र विद्वेष फैलाउने व्यक्ति, समूह वा संगठनलाई सरकारले समयमै नियन्त्रणमा नल्याउँदा गृह प्रशासनको कार्यप्रति गम्भीर प्रश्न उठाएका छन् ।
ज्ञापनपत्रमा वीरगञ्जमा हालै हनुमान जयन्तिको शोभायात्राका क्रममा उत्पन्न तनाव र त्यसपछि भएको साम्प्रदायिक हिंसालाई विशेष रूपमा उल्लेख गरिएको छ।
घटनामा हातहतियारसहितका युवाहरूले मुस्लिम बस्तीमा पसेर घर, पसलमा तोडफोड गर्नुका साथै स्थानीय मुस्लिम समुदायलाई धम्कीपूर्ण शैलीमा आतंकित बनाएको उल्लेख छ ।
सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक भएका यी घटनाहरूले सम्पूर्ण मुलुकमा चिन्ता उत्पन्न गरेको संगठनको भनाइ छ ।
ज्ञापनपत्रमा सम्राट सेना, करणी सेना लगायतका समूहहरूको गैरकानुनी गतिविधि तत्काल बन्द गरिनुपर्ने, मुस्लिम समुदायको सुरक्षा सुनिश्चित गरिनुपर्ने र यस्ता समूहहरूद्वारा योजनाबद्ध रूपमा मुस्लिम बहुल क्षेत्रबाट शोभायात्रा निकाल्ने कार्यप्रति गम्भीर ध्यान दिनुपर्ने माग गरिएको छ ।
विशेष रूपमा, कृष्ण सनातनी भनिने व्यक्तिले काठमाडौंको एक सार्वजनिक कार्यक्रममा ‘बर्मामा ५ लाख मुस्लिम मारेझैं, नेपालमा पनि त्यसैगरि सबै मुस्लिमहरूलाई मार्ने’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै संगठनले यस्तो हिंसात्मक भाषणको कडा निन्दा गरेको छ ।
समाजमा शान्ति, सहिष्णुता र भाईचारा कायम राख्न सम्प्रदायिक द्वन्द्व फैलाउने जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन र कडा कारबाही गर्नुपर्नेमा संगठनले जोड दिएको छ । ज्ञापनपत्रमार्फत दीर्घकालीन समाधानको माग गर्दै मुस्लिम समुदायमाथि बारम्बार भइरहेको आतङ्कको अन्त्य गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सरकारलाई आह्वान गरिएको छ ।
प्रतिक्रिया