Logo

समाचार

विपदजन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु, करोडौंको क्षति



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको प्रि–मनसुनको हालसम्मको अवधिमा विपदजन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु र २५७ जना घाइते भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ती सार्वजनिक गर्दै प्राधिकरणले प्रि–मनसुनको हालसम्मको अवधिमा विपदजन्य घटनामा करोडौंको आर्थिक क्षति भएको जानकारी दिएको हो । 

विज्ञप्तीमा लेखिएको छ,‘हाल देशमा मुख्यतया स्थानीय बायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागका अनुसार यो मौसमी अवस्था अझै केही दिन रहने देखिन्छ । यसपालिको प्रि–मनसुनको हालसम्मको अवधिमा विपदजन्य घटनामा परी ४१ जनाको मृत्यु र २५७ जना घाइते हुनु भएको छ । करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।’

प्राधिकरणको नेतृत्वमा राष्ट्रिय विपद् प्रतिकार्य कष २०७० (संशोधन २०७४) मा उल्लेखित विषयगत क्षेत्र अनुसारका सरकारी निकाय (लिड्स) र सहयोगी निकाय (को–लिड्स) को सहभागिता र सहकार्यमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६७ (संशोधन, २०७६) बमोजिम मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तर्जुमा भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

मुलुकको संवैधानिक प्रावधान र संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आइरहेको भन्दै विपद् जोखिम न्यूनीकरण तया व्यवस्थापनको लागि स्थापित कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीय तहदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचनाहरुको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले बताएको छ ।

प्रि–मनसुनको अवधिमा मौसमी अवस्थाको कारणले घट्न सक्ने विषयजन्य घटनाबाट सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न जिम्मेवार सबै निकाय कार्यजिम्मेवारी अनुसार सक्रियतापूर्वक परिचालित हुन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग लगायतका निकायबाट जारी हुने विषय सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न र विपद्बारे चासो राखी विपद सुरक्षित नेपाल निर्माणमा साथ र सहयोग पुर्याउन प्राधिकरणको अपिल छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ५४ बजे