Logo

समाचार

इप्पान र पायोनियर एलबीच ग्रीन ट्याक्सोनोमी र क्लाइमेट फाइनान्सिङमा संयुक्त अध्ययन गर्न समझदारी


२९ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र पायोनियर एल एसोसिएट्स (पीएलए) बीच जलविद्युत आयोजना केन्द्रित ग्रीन ट्याक्सोनोमी तथा क्लाइमेट फाइनान्सिङ विषयमा संयुक्त अध्ययन गर्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

शुक्रबार राजधानीको कमलादीस्थित इप्पान सचिवालयमा आयोजित कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर एलका सञ्चालक अनुपराज उप्रेतीले समझदारीपत्रमा हस्ताक्षर गरे।

सरकारले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य अघि सारेसँगै त्यसका लागि आवश्यक पुँजी ग्रीन फाइनान्सिङमार्फत जुटाउन सकिने सम्भावना रहेकाले अध्ययन सुरु गरिएको इप्पान अध्यक्ष कार्कीले जानकारी दिए। अध्ययनले सरकारलाई ग्रीन फाइनान्सिङ सम्बन्धी नीति निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जालाई छिटो प्रतिफल दिने क्षेत्रका रूपमा हेरेर निजी क्षेत्रले विविध अध्ययन अगाडि बढाएको बताए। उनले ग्रीन ट्याक्सोनोमीसम्बन्धी यो अध्ययन त्यही प्रयासको एक अङ्ग भएको उल्लेख गरे।

पायोनियर एलका सञ्चालक उप्रेतीले इप्पानसँगको सहकार्यमा अध्ययन गर्न पाउँदा उत्साहित रहेको जनाउँदै यसअघि विद्युत विधेयकमाथि गरिएको अध्ययनको अनुभवले ऊर्जा क्षेत्रमा थप योगदान गर्न प्रेरणा मिलेको बताए।

सम्झौताअनुसार पायोनियर एलले तीन प्रमुख विषयमा अध्ययन गर्नेछ – जलविद्युत आयोजनाका लागि ग्रीन ट्याक्सोनोमी गाइडलाइन निर्माण, ग्रीन ट्रान्जिसनका पक्षमा नीति वकालत, र जलविद्युत आयोजना विस्तारका लागि क्लाइमेट, ग्रीन तथा इनर्जी फाइनान्सिङ अवसरको मूल्याङ्कन। 

यसबाहेक, कार्बन ट्रेडिङसम्बन्धी विषयमा पनि अनुसन्धान गरिने र निजी जलविद्युत आयोजना र सरकारबीच समन्वयकारी निकायको भूमिका र आवश्यक नीतिगत ढाँचाबारे सिफारिस गरिनेछ।

अध्ययनका लागि पायोनियरबाट ४ र इप्पानबाट ३ सदस्य रहने गरी संयुक्त कार्यसमिति गठन गरिनेछ। उक्त समितिले सन् २०२५ अगस्ट (भदौ २०८२) भित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन इप्पानलाई बुझाउनेछ।

हस्ताक्षर कार्यक्रममा इप्पानका अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष डाँगी, उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा, कार्यसमिति सदस्य टीएन आचार्य, सुमन जोशी, प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायत सहभागी थिए। पायोनियर एलतर्फबाट सञ्चालक उप्रेती, आर्या अर्याल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ५ : १३ बजे