Logo

समाचार

धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा



जनकपुर । धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।

शैक्षिक सुधार, सरसफाइ तथा कर्मचारी व्यवस्थापनलगाउत विभिन्न माग राख्दै माघ २८ गतेदेखि सबैला नगरपालिकाको प्रवेशद्वारमा धर्ना दिँदै आएका यादवले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

उनले विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक पूर्ति, वडा कार्यालयमा कर्मचारी व्यवस्थापन र सफाइ व्यवस्थापनको माग गर्दै नगर प्रमुख कारीराम यादवलाई पटक–पटक प्रस्ताव पेश गरे पनि बेवास्ता गरिएको आरोप लगाए । पाँच नगरसभा र २० भन्दा बढी कार्यपालिका बैठकमा छलफल नहुनु आफूप्रति अन्याय गर्न खोजीएको उनले बताए ।

वडाध्यक्ष यादवका अनुसार विद्यार्थी संख्याको अनुपातमा ७० भन्दा बढी शिक्षकको अभाव छ, जसले शैक्षिक गुणस्तरमा असर पारेको छ। साथै, वडा कार्यालयमा कम्प्युटर अपरेटर नहुँदा स्थानीयवासीलाई सेवा लिन कठिनाइ भइरहेको छ ।

उनले शिक्षक पूर्ति, सामाजिक सुरक्षाभत्ता प्रत्येक वडामा गई वितरण गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र गाउँमै बनाएर वितरण गर्ने व्यवस्था गर्नुपर्ने, र प्रत्येक वडा कार्यालयमा कम्प्युटर अपरेटरको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

सबैला नगरपालिका–९ का वडाध्यक्ष मनिषकुमार रायले वडाध्यक्ष यादवको माग चाँडै सम्बोधन नभए आफू पनि वडा कार्यालय बन्द गरी धर्नामा बस्ने चेतावनी दिएका छन् ।

यता, नगर प्रमुख कारीराम यादवले केही जायज मागहरू कार्यान्वयनमा रहेको बताए । उनले सामाजिक सुरक्षाभत्ता र राष्ट्रिय परिचयपत्र गाउँ–गाउँमै गएर वितरण गर्नुपर्ने माग सुरक्षा तथा प्राविधिक दृष्टिले व्यवहारिक नभएको प्रतिकृया दिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : ४५ बजे