Logo

Breaking News 1

समिर दाहाल : जसले क्याफेमै सुरु गरे ‘आशाको भोजन’ सेवा


२९ फाल्गुन २०८१, बिहिबार  

92
Shares

अभियानको खास विशेषता भनेको समाजको लागि कम खर्चमा खाना उपलब्ध गराउनु हो । २० जनालाई निःशुल्क भोजन दिइसकेको क्याफेले, कोही व्यक्तिले पैसा तिर्न सक्दैन भने पनि टीमको तर्फबाट सहयोग गर्ने गरेको छ ।
समिर दाहाल अभियन्ता एवम क्याफे संचालक

काठमाडौं । समिर दाहाल पेशाले इन्जिनियर हुन् । पढेर र बुझेर इन्जिनियर बनेका उनको जीवनले अहिले फरक मोड लिएको छ । हस्पिटालिटी क्षेत्रबाट उनले नयाँ व्यवसायमा सक्रियता बढाएका छन् ।

‘ओकेटुवियर’ नाम दिएर उनले सानो क्याफे सुरु गरेका छन् । तर क्याफेले व्यापार मात्र गरिरहेको छैन,सामाजिक भावले ‘आशाको भोजन’सेवा पनि दिइरहेको छ ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले पेसाले इन्जिनियर भएपनि संयोगवस हस्पिटालिटी लाइनमा जोडिएको बताए । उनले धेरै सपना राखेर सानो क्याफे जगदेखि सुरु गरेको बताए ।

उनले भने, ‘पेसाले चाँही म इन्जिनियर हुँ । संयोगवस हस्पिटालिटी लाइनमा पनि जोडिन पुगे । विगत पाँच वर्षदेखि यसमा आवद्ध छु । धेरै सपना राखेर सानो क्याफे जगदेखि सुरु गरेका छौं ।’

समिरलाई समाजको दुःख, अप्ठ्यारो र भोकमरी देख्दा गहिरो चिन्ता र विचार उत्पन्न भएको थियो । ‘म बाटो हिड्दै गर्दा धेरै अप्ठ्यारोमा परेका मानिसहरु देख्थें, त्यसले मलाई सोच्न बाध्य बनायो । आफ्नो समाजमा के योगदान दिन सक्छौं, यही कुराले पिरोलिरहयो’ उनले थपे, ‘सक्ने मान्छेले सामाजिक कार्यमा भाग लिन सक्नुपर्छ ।सबै पैसा कमाउनमा लिप्त छौं, तर कसैले मद्दत किन गर्दैन्, समाजले हामीलाई धेरै दिएका छ, हामीले के दिन सक्यौं ?’

यसै कारण समिरले ‘आशाको भोजन’ सुरु गरेका हुन् । उनको उद्देश्य भनेको त्यो व्यक्ति जसको भोक मेट्ने पैसा छैन, उसलाई सहयोग गर्नु हो । क्याफेमा आउने व्यक्तिहरूले चाहेर नचाहेर सहयोग गर्नसक्ने वातावरण बनाइएको छ ।

समिरका अनुसार,‘हामीले खुवाएका व्यक्तिहरूको संख्या २० पुगिसकेको छ र यसले ठूलो सन्तुष्टि दिएको छ । यद्यपि हाम्रो लागि यो थोरै संख्या हो तर क्याफे सुरु गर्दै गर्दा नयाँ सोच विचारका साथ कामलाई अघि बढाएका थियौं ।’

समिरको यस अभियानको खास विशेषता भनेको समाजको लागि कम खर्चमा खाना उपलब्ध गराउनु हो । २० जनालाई निःशुल्क भोजन दिइसकेको क्याफेले, कोही व्यक्तिले पैसा तिर्न सक्दैन भने पनि टीमको तर्फबाट सहयोग गर्ने गर्छन् ।
‘हामीले १५ प्रतिशत छुट दिन्छौं र कुपन नभएको अवस्थामा पनि हाम्रो तर्फबाट खुवाइन्छ,’ उनले भने । ‘यसले समाजसेवाको भावना र इमानदारिता प्रकट गर्छ ।’

यसैगरी समिरले समाजसेवा र व्यापारलाई सँगै अघि बढाउँदै, आफ्ना साथीहरूको साथमा सानो पाइलाका रुपमा यस्तो कामको थालनी गरेको बताए ।

उनले विदेश जानु मात्र ठूलो सपना नभइ सीप र मेहनतले हरेक ठाउँमा सफलता मिल्ने बताए । साथै स्वदेशमा पैसाको कारण रोक्न नसकिएको भन्ने गलत भाष्यमा असमर्थन जनाउँदै उनी पैसाले नभइ सीपले नरोकेको बताउँछन् ।

उनले भने, ‘नेपालमा पनि आफ्नो समाजमा केही गरेर खुशीसँग बाँच्न सकिन्छ । विदेश जानु मात्र ठूलो सपना होइन, सीप र मेहनतले हरेक ठाउँमा सफलता मिल्छ । सबैले विदेश जानैपर्ने अवस्था त म देख्दिन । विदेशमा हेर्दैमा राम्रो लाइफ स्टाइल छ भन्ने म चाँही मान्दिन । किनकी जहाँ गएर पनि दुःख नै गर्ने हो । काम नै गर्ने हो । यहाँ परिवारसँग बसेर काम गर्न पाउनुकोछुट्टै आनन्द छ । साथी सर्कल सबै विदेश गएको देखेर पनि जाने चलन छ । जानेलाई रोक्न पनि सकिँदैन् । नेपालमा नै बसेर केही गर्ने इच्छा राखिन्छ भने कसैले छेकेको छैन् । पैसा कारण नै नेपालमा केही गर्न रोक्यो पनि भन्ने गर्छन् । पैसा होइन सीपले रोक्छ । मान्छेमा सीप हुन पर्यो । सीप् जहाँ पनि बिक्छ । यहाँ नबिकेको सीप विदेशमा बिक्छ भन्ने म चाँही मान्दिन ।’

यसैगरी उनले ‘आशाको भोजन’को उद्देश्य भनेको एक छाक पनि खान नसक्नेहरुका लागि यस्तो अभियान सुरु गरेको बताए । विपन्न र श्रमजीवि वर्गहरु दिनभरी काम गर्छन् । एक छाक खान पनि गार्हो छ । त्यसैले आशाको भोजन भनेर यस्तो आशा दिन सकौंै कि पैसा नभएपनि खान मन हुनेहरु बन्चित हुन नपरोस भन्ने हो ।’

उनले भने, ‘बच्चाबेलादेखि नै आफ्ना आमा हजुरआमा सरहको मानिसलाई सडकमा भोकभोकै देख्दा अति नै नराम्रो लाग्थ्यो । केही गर्न पाए हुन्थ्यो भन्ने सोच आउने गर्दथ्यो । सरकारले केही गरेको छैन् । उद्दार मनले कसैले सहयोग गर्न चाहन्छ भने किन नगर्ने भन्ने सोच छ ।’

यसरी समिरले ‘आशाको भोजन’ सँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गरिरहेका छन् । उनको उद्देश्य समाजमा भोक र समाजसेवामा एउटा सानो उदाहरण प्रस्तुत गर्नु हो । प्रमिला कार्की/नेपाल न्यूज बैंक

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : १४ बजे