काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले “डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन” विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।
उक्त सम्मेलन फागुन १५ गतेदेखी १६ गतेसम्म काठमाडौंमा सम्पन्न हुने तय गरिएको छ, जसमा नेपाल, संयुक्त अधिराज्य (युके), नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत, चीन, श्रीलंका, नर्वे र रुस लगायत १३ राष्ट्रका ९० जना भन्दा बढी सरकारी वकिल, कानून विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ ।
साथै, नेपालका तर्फबाट सर्वोच्च अदालत, नेपाल राष्ट्र बैंक, विभिन्न मन्त्रालयहरू, सरकारी वकिलहरू, तथा अन्य सम्बन्धित निकायका अन्य अधिकारीहरू सहभागी हुनेछन् ।
यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्ने छन् भने समापन गृहमन्त्री रमेश लेखकले गर्ने तय भएको छ । दुई दिनको दौरानमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानान्तर सत्रमा १६ वटा कार्यपत्रहरु उपर छलफल हुनेछ ।
यस सम्मेलनमा डिजिटल प्रविधिको माध्यमबाट गरिने अपराधहरूको विविध आयामका साथै तिनका अनुसन्धान, अभियोजन, र न्यायिक निरूपणका प्रभावकारी विधिहरूको विषयमा गहन छलफल गरिनेछ ।
विशेष रूपमा, प्रविधि मार्फत हुने यौनजन्य हिंसा, साइबर अपराध, डिजिटल ठगी तथा वित्तीय अपराध, अनलाइन शोषण, व्यक्तिगत गोपनीयता उल्लंघन, डिजिटल प्रमाण संकलनका विधि, अन्तर्राष्ट्रिय कानूनी सहकार्य तथा साइबर कानूनी नीति निर्माण जस्ता विषयहरूमा कार्यपत्र प्रस्तुत भई छलफल हुनेछ ।
यस सम्मेलनले अन्तर्राष्ट्रिय समुदायका बीचमा वैज्ञानिक अनुसन्धान प्रविधि, डिजिटल प्रमाणको स्वीकार्यता, तथा अभियोजन रणनीतिको साझा मञ्च उपलब्ध गराउनेछ, जसबाट अपराध अनुसन्धान तथा कानूनी प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
डिजिटल अपराधका कारण पीडितले भोग्नुपर्ने मानसिक, सामाजिक तथा आर्थिक असरहरू दीर्घकालीन हुने भएकाले पीडित–केन्द्रित न्याय प्रणालीलाई सुदृढ गर्नका लागि समेत यस सम्मेलनमा विशेष छलफल गरिनेछ । डिजिटल अपराधको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरू, अभियोजनकर्ताहरू, न्यायालय, तथा नीति निर्माताहरूबीच समन्वयात्मक संरचना विकास गर्ने आवश्यकतामा विशेष जोड दिइनेछ ।
यस सम्मेलनको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा न्यायिक सुधार, प्रविधि– अनुकूल कानूनी संरचना निर्माण, मानव अधिकार संरक्षण, तथा साइबर अपराध नियन्त्रणका सन्दर्भमा सक्रिय राष्ट्रको रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । साथै, नेपालका सरकारी वकिल, अनुसन्धानकर्ता तथा अन्य निकायहरूलाई डिजिटल अपराधसम्बन्धी अनुसन्धान, अभियोजन तथा न्याय निरूपणका आधुनिक प्रविधिहरूमा सशक्त तुल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया