Logo

राजनीति

सङ्घीय मामिलामन्त्री गुप्तासँग नर्वेकी राजदूत ड्रामडालको भेट, निजामती विधेयकबारे चासो व्यक्त


८ फाल्गुन २०८१, बिहिबार  

92
Shares

काठमाडौं – नेपालका लागि नर्वेकी राजदूत तोरन ड्रामडालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग शिष्टाचार भेट गर्नुभएको छ। राजदूत ड्रामडालले मन्त्री गुप्तासँग मंगलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेट गर्नुभएको हो।

भेटमा, नेपालको र नर्वे बीचको द्विपक्षीय सम्बन्ध र समसामयिक विषयहरूमा छलफल भएको मन्त्री गुप्ताले जानकारी दिनुभयो। मन्त्री गुप्ताले नर्वेलगायतका विकास साझेदारहरूको सहयोगका कारण प्रदेश र स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)लाई नेपालको सङ्घीयतामा आधारित प्रमुख कार्यक्रम ‘फ्लागशीप कार्यक्रम’ बनाउन सहयोग भएकोमा आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार हो, र नेपाललाई आफ्नो दीर्घकालीन विकासको साझेदार मुलुक बनाएकोमा म आभार व्यक्त गर्दछु।”

नेपाल र नर्वेबीच १९६४ देखि द्विपक्षीय साझेदारी रहेको उल्लेख गर्दै, मन्त्री गुप्ताले जलवायु परिवर्तनको मुद्दामा नर्वेले गरेको योगदानको पनि प्रशंसा गर्नुभयो। उनले, जलवायु परिवर्तन विश्वव्यापी समस्या बनेको छ र नर्वेले यसमा गरेको काम सराहनीय छ, भन्नुभयो। साथै, मन्त्री गुप्ताले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल र हिम श्रृङ्खलाहरूको संरक्षणको पक्षमा वकालत गरिरहेको कुरा पनि सम्झाउनुभयो।

नेपाल २०२६ सम्म अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्न लागेको चर्चा गर्दै, मन्त्री गुप्ताले यस ऐतिहासिक उपलब्धिलाई प्राप्त गर्न नेपाललाई नर्वे र अन्य विकास साझेदारहरूबाट आर्थिक, प्राविधिक र स्रोतसाधन सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँले नर्वे प्रशासनिक विकेन्द्रीकरणको राम्रो उदाहरण रहेको भन्दै यस विषयमा नेपालले सिक्नुपर्ने धेरै कुरा रहेको बताउनुभयो।

भेटको क्रममा, राजदूत ड्रामडालले ‘पीएलजीएसपी’ को ‘ज्वाइन्ट फाइनान्सियल एग्रिमेन्ट’को संशोधनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले सङ्घीय निजामती सेवा विधेयकको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्दै विस्तृत जानकारी लिनुभयो। यसमा, मन्त्री गुप्ताले भन्नुभयो, “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धी विधेयक, २०८० माथि व्यापक छलफल सकिएको छ। अहिले हामी दफावार छलफलमा छौँ र यसै संसद अधिवेशनबाट विधेयक पारित गर्नको लागि काम भइरहेको छ।”

अन्ततः, राजदूत ड्रामडालले सङ्घीयता कार्यान्वयन र विशेषगरी अन्तरसरकारी समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ९ओपीएमसीएम० थप सक्रिय भूमिकाका लागि मन्त्री गुप्ताको समन्वयको अपेक्षा व्यक्त गर्नुभयो। मन्त्री गुप्ताले यसका लागि आफ्नो पहल जारी रहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  १२ : २३ बजे