Logo

राजनीति

काठमाडौं–तराई मधेस द्रुतमार्ग निरीक्षणमा पुगे राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएका छन् ।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए । 

मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।

निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए । 

काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १ : ०९ बजे