Logo

Breaking News 1

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने गरि स्थानान्तरण गर्ने तयारी गरेको छ ।

२०८४ बैशाख भित्र निर्माण सक्ने लक्ष्य लिइएको डीपोको कुल अनुमानित लागत साढें ३ अर्ब हुनेछ । हाल घना बस्तीका बिचमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय असुरक्षित भएको र साँघुरो भएको भन्दै स्थानान्तरण गर्न लागिएको हो ।

हाल रहेको डीपो कुल १ बिगाहा ८ कट्ठा क्षेत्रफलमा रहेको छ । अब निर्माण हुने डीपोका लागि हाल २० बिगाहा १६ कट्ठा ८ धुर क्षेत्रफल जग्गा प्राप्त भएको छ ।

आयल निगमको हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख ईन्जिनियर प्रदीप यादवले सुदुरपश्चिमका नौ जिल्लाको मागलाई धान्ने गरेर नयाँ डीपो निर्माणका लागि जग्गा प्राप्त भइसकेको बताए ।

२०३७ सालमा स्थापना भएको डीपो जीर्ण भइसकेको र त्यसबेला दैनिक ४ ट्यांकर मात्र माग हुने अवस्थामा निर्माण भएकाले हालको माग सो डीपोले धान्न नसक्ने अवस्था रहेको तथा सुरक्षाका हिसाबबाट पनि असुरक्षित भएको बताए ।

’धनगढी डीपो २०३७ सालमा स्थापना भएको हो, त्यसबेला दैनिक ४ ट्यांकर इन्धनको माग धान्ने गरेर निर्माण भएको थियो, अहिले ९ जिल्लाको माग धान्न सक्ने अवस्थामा सो डीपो छैन, त्यसकारण स्थानान्तरण गरेर सुरक्षित र सुविधा सम्पन्न बनाइने गरेर तयारी अघि बढाइएको हो, यादवले भने ।

यादवले नयाँ बन्ने डीपो पुर्णरुपमा अटोमेसनमा आधारित र डीजीटल हुने बताए। २०८२ बैशाख पहिलो हप्ता डीपो निर्माणको शिलान्यास गरिने र नयाँ बन्ने डीपोको डीपीआर काठमाडौ विश्वविद्यालयले बनाउने उनले जानकारी दिए । काठमाडौं विश्वविद्यालयका ई विवेक बरालले तोकिएकै समयमा काम सक्नेगरी आफुहरूले काम गर्ने बताए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ५५ बजे