Logo

बागमती प्रदेश

गृहमन्त्रीद्वारा बाढी पहिरोबाट क्षतिग्रस्त पनौतीको निरीक्षण



काठमाडौं । सोमबार विहान गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट क्षतिग्रस्त काभ्रेको पनौती नगरपालिका–१२ भूमेडाँडा र बेथानचोश गाउँपालिका ४ चलालको निरीक्षण गरेका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि उनले तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी रहेको भन्दै तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्ने बताए ।

उनल भने, ‘भारी वर्षाबाट सिर्जित बाढी–पहिरोबाट जन–धनको ठूलो क्षति भएको छ । संघीयता र स्थानीय तहको आवश्यकता विपत्तका बेला महसुस भएको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार मिलेर काम गर्दा विपत्तिको सामना गर्न सजिलो हुन्छ । तीन वटै सरकारको विपत्तिमा काम गर्नुपर्ने जिम्मेवारी छ । तीन तहकै सरकारबिच समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’

उनले विकास र विपत्तिमा राजनीति नहुने भन्दै सडक, खानेपानी, विधुत, स्वास्थ्य लगायत विषयमा तत्काल लाग्नु पर्ने बताए ।

उनले भने, ‘विकास र विपत्तिमा राजनीति हुँदैन । सबैले मिलेर काम गर्नुपर्छ । पीडामा रहेका मानिस राहत दिन सबै लाग्नुपर्छ । खोजी र उद्धारको काम जारी रहेको भन्दै अब राहतको व्यवस्था गराउने अवस्थामा छौँ । सडक, खानेपानी, विधुत, स्वास्थ्य लगायत विषयमा हामी लाग्नुपर्छ । बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन् । घाइते मध्ये १८ जनाको उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज भइसकेका छन् ।’

उनले मृतकका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको बताए ।

उनले भने, ‘मृत्युुका परिवारलाई दुई लाख क्षतिपूर्ति दिने काम भएको भन्दै घरबार विहीनहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको २५ हजार दिने काम भएको छ । स्थानीय तहले लाभग्राही पहिचान गरेको तीन दिनमा पहिलो किस्ता उपलब्ध गराइन्छ । घाइतेको निशुल्क उपचार हुन्छ । काभ्रेका बाढी–पहिरो प्रभावितलाई थप पालिका वा वडालाई संकटग्रस्त घोषणाका लागि सिडिओले सिफारिस गर्नुहुन्छ । सडक सञ्जाल टुटेका पालिकामा हेलिकप्टरबाट राहत उपलब्ध गराइनेछ ।’

बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : ३८ बजे