Logo

विशेष

देशमा केही हुँदैन भनेर छिटो सफलता खोज्नेहरुका लागि उदाहरणका पात्र बनेका मिजार



काठमाडौं । चित्रकार प्रकाश मिजार उमेरले ४३ बर्ष भए । काठमाडौंको डाँछिमा जन्मेका मिजार बाल्यकाल देखि नै चित्रकलामा रुचि राख्थे ।

“सानो बेलामा स्कुल पढ्दा किताबको चित्रहरु र पुजापाठ गर्दा लगाउने तोरणको चित्र कोर्ने गर्थे”, उनले भने । बाल्यकाल देखिकै लागव र रुचिले मिजारलाई चित्रकारको नाम र ओहोदा दिएको छ । उनको परिवारमा आमा, श्रीमति, छोरा र दिदी गरि पाँच जनाको सदस्य रहेका छन् । उनको बुबाको भने मृत्यु भइ सकेको १२ बर्ष बिति सकेको छ। संघर्षको मैदानमा उभिदै गर्दा उनले पृत्री शोक पनि सहनु पर्यो ।

उनको एकजना दाइ पनि छन् । उनको नाम भने रामकृष्ण मिजार हो । उनका दाइ रामकृष्ण र उनि भिन्न भएर बस्न थालेको पनि लामो समय बिति सकेको छ । सामान्य परिवारमा जन्मिएका मिजारको जीवन देखे जस्तो सहज भने पक्कै थिएन । उनले जिवनमा धेरै संघर्ष गरेका छन् । न त उनको परिवारका कुनै सदस्य नै चित्रकार थिए । यस्तो हुँदा उनलाई उनको परिवारमा चित्रकलाको बारेमा बुझाउन निकै नै कठिन परेको थियो ।

समाजमा डाक्टर, इन्जिनियर, पाइलट जस्ता पेसा मात्रै राम्रो हो र त्यस्तै पेसामा आफ्ना छोराछोरी लागुन् भन्ने छाप बसि सकेको अवस्थामा चित्रकलालाई निरन्तरता दिई राख्न मिजारले पनि बाधा भने नझेलाका हैनन । चित्रकलाको सोख बोकेका मिजारले चित्रकलालाई अझै निखार ल्याउन अझै बढि सिक्ने इच्छा राखेका थिए । उनमा चित्रकलाको भोक सधैँ उस्तै भएका कारण उनले २०५९ सालमा ललितकला क्याम्पसमा भर्ना भए । उनले सोही साल पहिलो पटक “राष्ट्रिय कला प्रदर्शनि २०५९” भाग लिएका थिए । लगनशील र क्षमतवान् मिजारले सो सहभागीतामा नै सफलता हात पारे ।

पहिलो सहभागितामा नै सफलता हात पारेको खुशिको क्षण सुनाउँदा मिजारको अनुहारमा पनि खुशिका भावहरु स्पष्ट रुपमा झल्कि रहेको थियो । पहिलो सहभागितामा सफल हुने मानिस सायदै बिरलै भेटिन्छन् । लामो संघर्ष गर्दा पनि सफलता हात पार्न कतिपयलाई कठिनाइ परिरहेको हुन्छ । हुन पनि हो तँ आट म जुराउछु भने झै मिजारले बाल्यकाल देखि चित्रकलालाई निरन्तरता दिई राखेका थिए । राष्ट्रिय पुरस्कार पाउने बेला उनले गोर्खा दरवारको चित्र कोरेका थिए । जिवन्त र मनै लोभ्याउने चित्र कोर्ने मिजारलाई राष्ट्रिय पुरस्कारले थप उर्जा दिएको उनी बताउँछन् ।

ललितकला क्याम्पसमा उनले सोचेको भन्दा भिन्न पाए पछि उनलाई पढाईमा निरन्तरता दिई राख्न इच्छा भने लागेन । उनले भने, ” हामी नेपालीको कला, साहित्य सबै विदेशीले लेखेका छन्, यसरी अर्कोको देशका मानिसले लेख्दा के सबै कुरा समेटिन्छ र ? ” उनले अभावका क्षणहरुमा पनि चित्रकलालाई बहाना बनाएर कहिल्यै पर सारेनन् ।

चित्रकलाबाट जीवन धान्न कतिको सहज छ भनि सोध्दा ? उनी भन्छन्, “अहिले परिवार सहज रुपमा पालि राख्या छु ।” उनले कलालाई कहिल्यै आर्थिक लाभको रुपमा दाजेर हेरेनन् । अभावको पहाडमा उनी सामु उभिदा पनि उनले चित्रकलालाई निरन्तर रुपमा अघि बढाइ रहे । उनकै लगावको जलन्त उदाहरण हो अहिलेको उनले पाएको सफलता ।

उनिसँग ललितकला क्याम्पस पढ्दा करिव २ सयको हाराहरिमा विद्यार्थी रहेकोमा अहिले चित्रकारको रुपमा जम्मा ५ जना मात्रै कलाको रुपमा लागेको मिजारले बताए । उनले बनाएका चित्रहरु सामान्यतया १० हजार देखि अधिकतम ६ लाखसम्म बिक्रि हुने गरेको प्रकास मिजार सुनाउँछन् । मनै लोभ्याउने चित्रकला बनाउने दक्षता भएका मिजारले नेपलाको मात्रै हैन विदेशीहरुको पनि मन जितेका छन् । मिजारले बनाएका चित्रहरु नेपालमा मात्रै नभएर अमेरिका, युरोप लगायत देशहरुमा समेत बिक्रि हुन्छन् ।

लकडाउन पश्चात मिजारले शिक्षण पेसामा पनि हात हालेका छन ।कलाका धनि मिजार हजारौं विद्यार्थीहरुलाई चित्र बनाउने ज्ञान बाडी रहेका छन् । हाल उनले ४ वटा स्कुलमा चित्रकला सम्बन्धि शिक्षा दिई रहेका छन् । चावेलमा रहेको रिभेरा इन्टरनेसनल स्कुल, अल्पाइन एकेडेमी, ब्रह्म कुञ्ज शिक्षा सदन र मिनि ल्याण्ड इङिलिस स्कुलका बिद्यार्थीहरुको मन जिति रहेका मिजार सफल चित्रकार मात्रै नभएर सफल शिक्षक पनि हुन् ।

कलाका धनि मिजार मनका पनि धनि छन् । लगनशिल र आफ्नो काममा लगाव राख्ने मिजार साच्चै नै मनका पनि उतिकै उनका चित्र जस्तै स्पष्ट र सालिन छन् ।उनले कतिपय स्कुलहरुमा बिना पैसा पनि चित्रकला सम्बन्धि ज्ञान दिने तालिम दिने गरेका छन् । भावि चित्रकारलाई थप ज्ञान मिलोस् भन्ने उदेश्यले उनले छ्वालि चित्रकला सम्बन्धि सडक अभियान पनि बेलाबेला चलाउँछन् ।

उनी सहित ६ जना चित्रकार चैत्र महिनामा दोस्रो जिरी मोहोत्सवमा दोलखा गएका थिए । कलाको मार्फत जिरिलाई प्रमोट गर्ने उदेश्यले कलाकारहरु त्यहाँ गएको मिजारले सुनाए । मिजारले जिरिको संस्कृति झल्किने देखि प्राकृतिक सम्पदालाई कलात्मक ढङ्गाले चित्रमा उतारेका थिए । उनले चित्रहरु प्रदर्शनिमा राख्दा चित्र हेर्नेहरुको भिड लागेको थियो । उनले कोरेको चित्रहरु हेर्न प्रदर्शनिमा आएका मानिहरको अनुहारमा पनि खुशिको भाव झल्कि रहेको थिए । कतिपय भिजिजटरहरु चित्रले आकर्षित गरेको बताइ रहेका थिए ।

मिजारले कुन विधामा चित्रकला बनाउँछन् ?

चित्रकलाको पनि आफ्नै विधा हुने चित्रकार मिजार बताउँछन् । उनले चाहि छ्वालि विधामा चित्रकला बनाउने गरेका छन् । जोहो गरी राखिने छ्वालीबाट चित्रकार मिजारले विभिन्न कलाकृति बनाउछन् । ग्रामीण भेगमा सजिलै उपलब्ध हुने छ्वालीलाई कलामा उतार्ने अठोटका साथ उनले निरन्तर दिई रहेका छन् । छ्वालिलाई संमायोज गरि कलात्मक ढङ्गले रङ्ग भर्ने काम उनले गर्छन् ।

कस्तो छ त मिजरको पारिवारिक पृष्ठभूमि ?

मिजारले चित्रकलामा पाइला चालि रहेको अवस्थामा भक्तपुरकी दुर्गासँग मागि विवाह गरेका थिए । उनको वैवाहिक र पारिवारिक जीवन सुखद रहेको मिजार बताउँछन् । उनका छोरा दर्पण मिजार अहिले चार कक्षामा पढ्ने भइ सके । मिजारको दिदिको विवाह भएको छैन् । उनकि दिदी पनि उनिसँगै बस्छिन् । उनिहरु सपरिवार मिलेर बसेका छन् । उनको घर परिवार खेतिपातिको पनि काम गर्छन् ।

उनले कुन कुन समयमा केके पुरस्कार पाए त ?

राष्ट्रिय कलाकौशल प्रदर्शनी २०५९(नाफा)बाट मिजारले प्रथम पुरस्कार पाएका थिए । यो पुरस्कारले मिजारको जिवनमा थप हौसला र उर्जा थपि दिएको थियो । साथै यहीँ पुरस्कारको कारणले उनको जीवन पनि बन्धक हुनबाट बचेको थियो । जनयुद्द्को समयमा आर्मीले उनलाई बिरोधि हो भन्ने शंका गरेर एक दिनसम्म बन्धक बनाएको मिजार सुनाउँछन् । तपाईलाई डर लागेन त्यो समय भनि प्रश्न गर्दा, “गल्ति नभए पछि डराउने कुरै भएन ।” यसो भन्दै गर्दा मिजारले सहि र सत्यताको चित्रण गरि रहेका थिए । आर्मीले उनलाई मात्रै बन्धक नबाएर उनको घरको सर सामान पनि लगेको थियो । विभिन्न सामान मध्ये आर्मीले उनले पाएको “राष्ट्रिय कलाकौशल प्रदर्शनी २०५९” देख्यो र उनलाई छोडि दिएको थियो । उनको चित्रकलाले नै उनलाई त्यो समय छुटकारा दिएको हुँदा उनमा अझ बढि आफ्नो कला प्रति माया बढेर आएको मिजार सुनाउँछन् ।

२०६४ सालमा मिजारले सिप विकास केन्द्र प्रथम पुरस्कार पुरस्कार हासिल गरे । चित्रकलामा पाइला राख्या मिजारका परिवारले मनमा खिन्नता राखेता पनि बिस्तारै मिजारले परिवारको साथ पाए, खिन्नता हटाउन सफल भए । जिवन्त र सुन्दर चित्रकला बनाउने मिजार एउटै मात्रै पुरस्कारमा सिमित भएनन् । उनले २०६९ सालमा उत्कृष्ट नौलो श्रृजना(नाफा)बाट पनि पुरस्कार पाए ।

त्यस पश्चात् उनि फेरि अर्को साल अर्थात् २०७० सालमा उत्कृष्ट उद्यमी अवार्ड (ने.घ.सा.उ.म.) बाट पनि पुरस्कृत भए । मिजारको वास्तविक जीवन कथा सुन्दा उनको यो पुरस्कारले उनको बिगतको दु:ख र मिहेनतलाई पनि झल्काइ रहेको छ । सम्मान पाउनु मात्रै ठूलो कुरा हैन त्यसलाई बचाई राख्नु पनि ठूलो कुरा हो भन्ने बुझेका मिजारले एउटा सफलता र पुरस्कार पाए भन्दैमा धित मारेर बसेनन् । आफ्नो कामलाई उनले निरन्तरता दिई राखे ।

उनले फेरि २०७७ सालमा प्रादेशिक पुरस्कार (नाफा) बाट पनि सम्मानित भए । सन् २०२२ मा त मिजारले ३ वटा पुरस्कार पाए । उनले उत्कृष्ट कला अवार्ड २०२२ हङ्गेरीबाट , विश्व कलाकार अवार्ड २०२२ भारतबाट र
वर्ष कलाकार अवार्ड २०२२ भारतबाट फेरि पनि पुरस्कृत भए । यति धेरै पुरस्कारबाट सम्मान पाउनु भएको छ, यसको लागि के कुरा चाहिने जस्तो लाग्छ भनि सोध्दा, उनी भन्छन्, ” लगाव, मिहेनत सबै कुरा चाहिन्छ ,लगाव मात्रै भएर हुन्न निरन्तरता पनि दिई राख्नु पर्यो ।”

बाल्यकाल देखिको लगावले नै आज मिजारलाई अनेकौ पुरस्कारको हकदार बनायो । मिजारको उत्कृष्ट काम र मेहनतले सन् २०२३ मा पनि पुरस्कार पाए । उनले सन् २०२३ ब्राजिलबाट द्वितीय पुरस्कार हासिल गरे भने सन् २०२३मा अमेरिकाबाट सिल्भर अवार्डबाट पुरस्कृत भए । उनी अझै रोकिएका छैनन् । आफ्नो कामलाई उनले निरन्तरता दिई रहेका छन् ।

तपाईले पाएको सफलताको श्रेय कसलाई दिनुहुन्छ भनि सोध्दा मिजार बताउँछन्, कला प्रतिको मेरो लगावले नै निरन्तरता पाएको हो ।” देशमा केही हुँदैन भनेर छिटो सफलता खोज्नेहरुका लागि उदाहरणका पात्र बनेका छन् चित्रकार प्रकास मिजार ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ५८ बजे