Logo

राजनीति

बीपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनैबेला बीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले विगतमा बीपी कोइरालाले भनेको कुरालाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न खोजियो भने ठिक ठाउँमा पुग्न नसकिने बताए ।

उनले भने,हामीले सँधैभरी बीपी कोइरालाको सन्दर्भमा पटक–पटक एउटा कुरा कमजोरी गर्दै आएका छौं । बीपीको फन्डामेन्टल, आधारभूत कुरालाई छोडेर कुनै बेला उहाँले भन्नुभएको कुरालाई लिएर हामीले आजको अर्थतन्त्र, समाज र समयको चुनौतीको समाधान गर्न खोज्यौं भने ठिक ठाउँमा पुग्दैनौं । बीपी कोइरालाको आधारभूत स्वतन्त्र समानताको कुरा सबैले बराबर अवसर पाउँने कुराको सन्दर्भमा उहाँको विचार अबको एकसय वर्षसम्म पनि सहि हुनेछ ।’

उनले जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योगलाई   गिरिजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने भनेर गरेको निर्णय बीपीको समाजवादको आँखाबाट हेर्दै गर्दा ठिक थियो कि थिएन भन्ने प्रश्न आज पनि उठ्ने गरेको बताए । यस विषयमा नेपाली कांग्रेसको नेता कार्यकर्ताहरुमा नै अन्योलता रहयो भने सबै नेपालीलाई अन्योल रहने भन्दै निर्णय सहि भएको प्रष्ट पारे ।

उनले भने,‘जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योग ४८ सालको गिरीजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने गरेको निर्णय बीपीको समाजवादको आँखाबाट हेर्दैगर्दा ठिक थियो कि थिएन भनेर समिक्षा गर्नुपर्छ । हामी अहिले पनि नेपाली कांग्रेसको नेता कार्यकर्ताहरु कन्फ्यूज भयौं भने अरुलाई पनि कन्फ्यूजमा पार्छौं । त्यो सत प्रतिशत नै सहि थियो ।’

महामन्त्री थापाले अबको कांग्रेसको ठूलो सफलता भनेको कत्तिको युवाहरुलाई देशमा रोजगारी दिन सक्यो भन्ने नै रहने बताए । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यतामा भएको कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य एवम विभागीय प्रमुख डिला संग्रौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ०२ बजे