Logo

राजनीति

जसपा नेपालको अभियान उद्घाटन तयारी समिति गठन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन तयारी समिति बनाएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ ९ गते काठमाडौंमा एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गर्ने तयारी रहेको छ ।

जसअनुसार सो अभियान उद्घाटनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी एवम् बागमती प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका अध्यक्षहरु रहने गरी जीवन लामाको संयोजकत्वमा अभियान उद्घाटन मूल आयोजक समिति गठन गरिएको हो ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य ज्ञानबहादुर लामाको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्षहरु रहने गरी आर्थिक समिति गठन भएको छ । साथै ओमकृष्ण श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र राज लामा शेर्पाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।

बिस्तारित बैठकले पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश समितिको सह इन्चार्ज सुनी लामालाई पार्टी केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । जसपा नेपालले पार्टीका दुई सय केन्द्रीय सदस्यलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने अभियान भदौदेखि मंसिर मसान्तसम्म सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : १६ बजे