Logo

Breaking News 1

पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । पर्यटन समितिमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडका सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यस्तै, दिउँसो १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बस्नेछ । बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भाबी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा छलफल गरिने जनाइएको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभा सचिवसँग छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : २६ बजे