रामेछाप । सिङ्गो बस्तीमा एक घर पनि ब्राह्मण क्षेत्रीको छैन । पुरै बस्ती तामाङ समुदायको, सबै बौद्ध धर्मालम्बि । तर गाउँको बिचमा मन्दिर भने हिन्दु धर्मालम्बिको महाकाली देवीको । नेपालमा धार्मिक तथा जातीय सहिष्णुता कति प्रगाढ छ भन्ने उदाहरण हो रामेछापको खाँडादेवी–८ गागलको महाकाली मन्दिर । तामाङ बस्तीको बिचमा रहेको यो मन्दिर स्थानीयको आस्थाको केन्द्र मात्र होइन धार्मिक सहिष्णुताको प्रतीक पनि बनेको छ ।
यो महाकली मन्दिरलाई निक्कै ऐतिहासिक र पुरानो मानिन्छ । मन्दिरको इतिहास स्थानीयलाई थाहा छैन तथा परम्परागत कहावत भने चल्दै आएको छ । पुस्तौँ पुस्तादेखि त्यही कहावत सर्दै आएको छ । स्थानीयका अनुसार अहिले मन्दिर रहेको ठाउँमा स्थानीयले पोखरी खन्न लागे । पोखरी खन्ने क्रममा एउटा ठुलो ढुङ्गो फेला पर्यो । पोखरी खन्नेहरूले खनेर ढुङ्गो निकाल्न सकेनन् । घनले फुटाउँदा ढुङ्गाबाट रगत निस्कियो ।
ढुङ्गाबाट रगत आएपछि स्थानीयले जानेलाई देखाए । जान्नेलाई देखाउँदा म महाकालीबाट आएको श्री महाकाली देवी हुँ भनेर बकेपछि सोही ठाउँमा महाकाली मन्दिर थापना गरियो भन्ने कहावत छ । महाकाली थानमा प्राकृतिक सिला छ । त्यहाँ भोग खाने र नखाने दुवै थरीका देवी छन् । पहिला धेरै बली चढाइने सो मन्दिर अहिले बलि पूजा भने रोकिएको खाँडादेवी–८ वडाध्यक्ष जङ्गलाल तामाङ बताउँछन् ।
देवीथानमा देवीको सुरक्षाको लागि एउटा ठुलो ढुङ्गो गाडिएका छ । सो ढुङ्गो गाउँको पारी माकादुमबाट ल्याइएको स्थानीय बताउँछन् । ढुङ्गो ल्याउँदा गाउँको पुछारमा भाँचिएपछि भाँचिएको टुक्राबाट सोही ठाउँमा महादेव र साँढेको मूर्ति बनाएर मन्दिर स्थापना गरिएको छ ।
महाकाली थानमा गाडिएको ढुङ्गामा सुनको गजुर राखिएको थियो । सो गजुर चोरी भएपछि लामो समयसम्म त्यतिकै खाली रह्यो । पछि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजक गरी जलप लगाएको गजुर राखिएको छ । मन्दिर संरक्षणको लागि मन्दिरको वरिपरि कम्पलाउण्डवाल लगाएर संरक्षणको काम गरिएको वडाध्यक्ष तामाङ बताउँछन् ।
प्रतिक्रिया